काठमाडौं - म्याग्दी सदरमुकाम बेनीमा बिहीबार सम्पन्न भएको प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेको छ ।
स्थानीय खुल्लामञ्चमा आज भएको पुरुषतर्फको फाइनल खेलमा बेनीले मङ्गला गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । महिलातर्फ अन्नपूर्णले मालिका गाउँपालिकालाई ३–१ सेटले पराजित गर्दै मोना कपको उपाधि जितेको हो ।
पुरुषतर्फ मालिका तेस्रो तथा महिलातर्फ रघुगङ्गा तेस्रो भए । पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु एक लाख ५० हजार, रु ७५ हजार र रु ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
दुवै प्रतियोगितामा ६ स्थानीय तहले सहभागिता जनाएका थिए । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौँ महाधिवेशनको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।