काठमाडौं - नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को संयुक्त आयोजनामा नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ प्रदान गरिएको छ । प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार यस वर्ष संयुक्तरूपमा दुईजना पत्रकार महिलालाई प्रदान गरिएको हो ।
दिलमाया शाही (सन्धान अनलाइन, जुम्ला, कर्णाली प्रदेश) र कमला तामाङ ‘पाख्रिन’ (कान्तिपुर टेलिभिजन, सिन्धुपाल्चोक, बागमती प्रदेश) नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
यहाँ आज आयोजित कार्यक्रममा पुरस्कृत पत्रकारलाई बधाई दिँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिक परिवर्तनमा नेपाली पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरे । उनले अन्य क्षेत्रमा जस्तै पत्रकारितामा पनि सुधारको आवश्यकता रहेको भन्दै आत्मालोचनासहित रुपान्तरण हुनुपर्ने बताए । उनले सञ्चारसम्बन्धी कानुन निर्माणलाई प्रथामिकताका साथ अघि बढाउनेबताए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पुरस्कृत पत्रकारलाई बधाई दिँदै नेजासँगको निरन्तर सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरे । उनले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न आमसञ्चार प्रतिष्ठानको आवश्यक्ता रहेको बताउँदै सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिनुपर्ने बताए । कानुन निर्माण प्रक्रियालाई सरल बनाई पत्रकारिताका सबै क्षेत्रलाई समेट्ने गरी कानुन निर्माण गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिताको समीक्षा गर्नुपर्ने बेला आएकोबताए । उनले पत्रकारले पत्रकारिताको सामान्य मूल्य, मान्यतालाई आत्मसात् गरी सत्यतथ्य समाचार सम्प्रेषण गरेमात्रै पनि पत्रकारितामा सुधार हुने बताए । कार्यक्रममा नेजाका अध्यक्ष सुरज भण्डारी र महासचिव बाबुराम दाहालले पुरस्कृत पत्रकारलाई बधाई दिँदै नेजाले नेपालको पत्रकारितामा गर्दै आएको साथ र सहयोग आगामी दिनमा पनि जारी रहने प्रतिबद्धता व्यक्त गरे ।
महासङ्घका महासचिव रोशन पुरीले नेजाले पत्रकारिता पुरस्कारमात्रै होइन, पत्रकार बिरामी पर्दा र प्राकृतिक विपत्तिमा पनि नेपाली पत्रकारिता क्षेत्रलाई सहयोग गर्दै आएको बताए । उनले श्रमजीवी पत्रकार ऐनसहितका सञ्चारसम्बन्धी कानुनको पूर्ण कार्यान्वयन नहुँदा पत्रकारहरू पारिश्रमिकबाट बञ्चित हुनुपरेको बताए । पत्रकारलाई सञ्चारमाध्यमले आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
पुरस्कार छनोट समितिका संयोजक गोविन्द आचार्यले दुई सय २३ आवेदकमध्येबाट उत्कृष्ट दुई जनालाई छनोट गरिएको बताए । कार्यक्रममा महासङ्घका सल्लाहकार निर्मला शर्मा, नेजाका पूर्वअध्यक्ष गौतम दाहाललगायतले धारणा राखेका थिए ।