काठमाडौं - विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेगको खेलमा एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै नेपालले बराबरी गरेको हो ।
नेपालका लागि अञ्जन विष्टले कीर्तिमानी गोल गर्दै खेल बराबरी गरेका हुन् । लाओसका लागि कप्तान बोनपछान बोउनकोङले ३३ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।तर दोस्रो हाफमा नेपालले पुनरागमन गर्यो र ४८ औं मिनेटमा अञ्जन विष्टले नेपालको लागि बराबरी गोल फर्काएका हुन् ।बराबरी गोल गरेपछि नेपालले लाओसमाथि लगातार दबाब बनाएको थियो । तर अर्को गोल भने थप्न सकेन र बराबरीमै चित्त बुझाएका छन् ।
प्रारम्भिक चरणको दोस्रो खेल होम एण्ड अवेको आधारमा हुने १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ । होम ग्राउण्डमा बराबरी खेलेपछि अब नेपालले विश्वकपको दोस्रो चरणमा पुग्न लाओसलाई उसको मैदानमा हराउनु पर्ने छ ।लाओसमा हुने खेल गोलरहित बराबरी भएमा लाओस दोस्रो चरणमा पुग्ने छ भने २ गोल भन्दा बढीको बराबरीले नेपाल अघिल्लो चरणमा पुग्ने छ ।
प्रारम्भिक छनोटको विजेताले दोस्रो चरणमा स्थान बनाउनेछ । होम एण्ड अवेमा खेलेपछि नेपाल र लाओसबीचको खेलको विजेता युएई र बहराइन रहेको समूहमा पर्नेछ । यस्तै प्रारम्भिक चरणमा श्रीलंका र यमनबीचको विजेता पनि यही समूहमा पर्नेछ । दशरथ रंगशालामा ८ वर्षपछि विश्वकप छनोटको खेल भएकाे छ । खेल खेलिरहेको नेपाली फुटबल टोलीको समर्थनमा नेपालको ठूलो झण्डा बाजागाजासहित दर्शकहरु उल्लेख्य मात्रामा उपस्थित भएका थिए ।