- कोशीमा मिलेर जानका लागि शेखरलाई राष्ट्रपति रामचन्द्र पौडेलले समेत समन्वयको प्रयास गरे
- शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पुगेकाहरुले धोका नदिए कार्कीलाई मुख्यमन्त्री बन्नबाट कसैले रोक्न सक्ने छैन
- कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहालले केदार कार्कीलाई नै गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनाउने प्रस्तावसमेत अघि सारेका थिए
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र विवाद सल्टाउन नसक्दा कोशीले शुक्रबार नयाँ मुख्यमन्त्री पाउन सकेन । संस्थापनइतरका नेता डा. शेखर कोइरालाले विद्रोह गरेर गठबन्धनको निर्णयविपरीत गएपछि देउवालाई विवाद सल्टाउन मुश्किल भएको हो ।
कोशीमा कांग्रेससहितको गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री दिने निर्णय गरेको थियो । यता शेखर पक्षले भने कांग्रेसको यो निर्णय मान्य नहुने भन्दै विरोध ग¥यो । शेखर पक्षबाट केदार कार्की मुख्यमन्त्रीको दाबेदारी निस्किएपछि सबैभन्दा ठूलो दल एमालेले उनैलाई समर्थन गर्ने निर्णय ग¥यो ।
एमालेको ३९ सिटसहित आठ जना कांग्रेस सांसदहरुको हस्ताक्षर लिएर केदार कार्की मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहीबार नै पुगेका थिए । अहिलेको धाराअनुसार कोशीमा मुख्यमन्त्री बन्न ४७ जनाको हस्ताक्षर भए पुग्छ । कार्कीले यसै गरेपछि गठबन्धनले दिनभर कांग्रेसलाई मनाउने प्रयास ग¥यो । देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग बिहानै भेटे । त्यसपछि पदाधिकारी बैठक राखे देउवाले । लगत्तै केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाके । देउवा निवास धुम्बराहीमा डाकिएको बैठक कोरम नपुगेपछि बस्ने सकेन ।
शेखरलाई राष्ट्रपति र देउवाको फोन
कोशीमा मिलेर जानका लागि शेखरलाई राष्ट्रपति रामचन्द्र पौडेलसमेत लागेका छन् । पौडेलले दिउँसो संघीयता जोगाउनका लागि मिलेर जान आग्रह गर्दै फोन गरेका थिए । यसैगरी देउवाले ज्ञानेन्द्र कार्कीमार्फत शेखरसँग कुराकानी मिलाएका थिए । तर, कांग्रेसले माओवादीलाई नेतृत्व छाड्नै नहुने भन्दै आफू ब्याक नहुने जवाफ फर्काए । कोइराला टस न मस भएपछि देउवा गलेका थिए । त्यसपछि उनले केन्द्रीय कार्यसम्पादनको बैठक बोलाए । तर, बैठक भने बस्नै सकेन ।
केदारलाई नै गठबन्धनको उम्मेदवार बनाउन प्रस्ताव
देउवा र दाहाल शेखर समूहकै केदार कार्कीलाई सत्ता गठबन्धनको उम्मेदवार बनाउने प्रस्तावसमेत शेखरसामु राखे । तर, शेखरले यो विषयमा अस्वीकार गरे । विद्रोह गरेका शेखरलाई फकाउन दुई नेताले तीन प्रस्ताव गरेका थिए ।
दाहाल र देउवाले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङदाम्बे, प्रमुख सचेतक रमेश लेखक र नेता कृष्णप्रसाद सिटौला सहभागी बैठकमा तीन प्रस्ताव राखेका थिए । तर, कोइरालाले तीनवटै विकल्प अस्वीकार गरेपछि गठबन्धन संकटमा परेको छ ।
कोइरालासामु पहिलो प्रस्ताव कांग्रेस, माओवादीसहितको गठबन्धन जोगाएर जानुपर्ने भन्दै नेताहरुले मुख्यमन्त्रीमा कार्कीको दाबी फिर्ता गराउन र माओवादी संसदीय दलका नेता आङ्बोलाई समर्थन गर्न प्रस्ताव गरिएको थियो । त्यसलाई कोइरालाले तत्कालै अस्वीकार गरेपछि प्रधानमन्त्री दाहालले कांग्रेसले सर्वसम्मत नाम दिएमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखे । सभापति देउवाले पार्टीमा छलफल गर्दा सर्वसम्मत नाम दिन नसक्ने भन्दै शेखरलाई नै कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापा र एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीबाहेकको नाम प्रस्ताव गर्न आग्रह गरे । कोइरालाले यो प्रस्ताव पनि तत्कालै अस्वीकार गरिदिए ।
अन्तिममा नेताहरुले कार्कीलाई नै गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनाउने प्रस्ताव राखे । एमालेको समर्थनमा हुन नहुने उनीहरूको सर्त थियो । त्यसमा शेखरको जवाफ थियो, ‘अब गाह्रो छ ।’ यता कोशी कांग्रेसको कार्यसम्पादन समितिको बैठकले भने केदारको पक्षमा पार्टीका सांसदहरुले गरेको हस्ताक्षर फिर्ता गर्न आग्रह गरेको छ ।
अब सनाखतपछिमात्र मुख्यमन्त्री
कोशीमा अब मुख्यमन्त्रीको नियुक्तिका लागि सांसदहरुको सनाखत गरिने भएको छ । मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्र आङ्बो र नेपाली कांग्रेसका केदार कार्की दुवैले ४७÷४७ सांसदको हस्ताक्षेर पेस गरेकाले नियुक्तिको निर्णयका लागि प्रदेश प्रमुख परशुराम खापुङले सनाखत गर्ने निर्णय लिएका हुन् ।
सनाखतका लागि आज बिहान ८ बजेदेखि अपराह्न २ बजेसम्मको समय तोकिएको छ । प्रदेशसभाका सदस्यहरुलाई उक्त समयभित्र प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुन भनिएको छ ।
एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेसका कार्की आफ्नो पक्षमा हस्ताक्षर गर्ने सांसदहरुसहित शुक्रबार अपराह्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।
कार्की आफूलाई नियुक्त गरिनुपर्ने भन्दै एमालेका प्रमुख सचेतक हिक्मत कार्कीसहित खापुङलाई भेट्न पुगेका थिए । यता केन्द्रमा कुरा मिलिसकेको थिएन । त्यसैले होला, खापुङले हस्ताक्षर सनाखत नगरी आफू निर्णयमा पुग्न नसक्ने जवाफ दिएका थिए । त्यसपछि कार्की र उनको पक्षमा हस्ताक्षर गरेका सांसदहरु प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिएका थिए ।
माओवादी केन्द्रका आङ्बोले आफ्नो पक्षमा कार्कीकोसमेत हस्ताक्षर बुझाएका छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पुगेकाहरुले धोका नदिए कार्कीलाई मुख्यमन्त्री बन्नबाट कसैले रोक्न सक्ने छैन । उनको पक्षमा एमालेका ३९ सांसदले हस्ताक्षर गरेका छन् । यस्तै कांग्रेसका सात सांसदले पनि कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाएका छन् ।
मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका थिए । त्यो समयभित्र आङ्बो र कार्कीको मात्र दाबी पेस भएको छ । कार्कीलाई कांग्रेसका संस्थापनइत्तरका नेता शेखरले मैदानमा उतारेका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले साथ दिने आश्वासन दिएपछि कार्कीलाई अगाडि सारेका हुन् ।
कोशीमा नौ महिनामा पाँचौंपटक नयाँ सरकार गठन गर्न लागिएको हो । यसअघि एमालेका कार्की र कांग्रेसका उद्धव थापा दुई÷दुई पटक मुख्यमन्त्री नियुक्त भएका थिए । तर, उनीहरु दुवै जना बहुमत जुटाउन नसकेर पदमुक्त भएका हुन् ।
दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत नपाउने देखेर एक साताअघि राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख खापुङले प्रदेशसभाका सदस्यलाई बहुमतसहित दाबी पेस गर्न शुक्रबार साँझसम्मको समय दिएका थिए ।
प्रदेशसभामा एमालेसँग उपसभामुखसहित उपसभामुखसहित ४०, कांग्रेससँग २९, माओवादी केन्द्रसँग १३, राप्रपासँग छ, नेकपा एकीकृत समाजवादीसँग चार र जनता समाजवादी पार्टीसँग एक सांसद छन् ।