काठमाडौं– इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी शुक्रबार बिहान नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको वाइडबडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरूलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायतका सरकारी अधिकारीहरू टोली इजरायल गएका थिए ।
उद्धारपछि शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका ५०३ जनामध्ये २५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।
‘इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरूलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरेबमोजिम आजसम्म ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराउनुभएको छ । जसमध्ये ५०३ जनाले नेपाल फर्कने इच्छा व्यक्त गर्नुभएकोमा २५४ जना आज हामीसँगै स्वदेश फर्कनुभएको छ,’ मन्त्री साउदले शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने ।
उनले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए । यस घटनामा परी चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना उपचारपछि शुक्रबार नै स्वदेश फर्किएको, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएको र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेको मन्त्री साउदले जानकारी दिए । ‘आक्रमणमा परी हालसम्म सम्पर्कविहीन हुनुभएका विपिन जोशीको खोजी निरन्तर जारी छ,’ उनले भने, ‘यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौं ।’
इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरूको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए । ‘कानुनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरायलमा शवको संख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको छ । त्यसैले उनहरूको परिवार तथा आफन्तलाई केही समय धैर्यधारणा गर्र्न म अनुरोध गर्दछु,’ उनले भने ।
हाल तेल अभिभबाट नियमितरुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक कारणवश छुटेका नेपालीहरूलाई आवश्यकताअनुसार नेपाल सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने उनको भनाइ छ ।
नेपाल ल्याइएका नागरिकहरूलाई विभिन्न गन्तव्यमा पु¥याउनका लागि विमानस्थलमा नेपाल प्रहरी तीनवटा बस तयारी अवस्थामा राखिएको थियो ।