धरान– तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान १५ की निवा लिम्बू (१९) ले मिस धरान आइकन २०२३ को उपाधि जितेकी छन् । मिस पर्सनालिटीको सबटाइटलसमेत जितेकी निवाले धरानको अर्थतन्त्रको विकास र पर्यटनमा टेवा पुर्याउन धरानमा स्थानीय सम्पदाको प्रवर्द्धन र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने विचार राखिन ।
उत्कृष्ट ११ प्रतिस्पर्धीलाई पछि पार्दै निवाले उपाधिसँगै नगद ५० हजार रुपैयाँ र एक साताको हङकङ भ्रमणको अवसर प्राप्त गरेकी छन् । मुख्य निर्णायक मेन्टर सेफ तथा युएन कलेजका एचएम कोर्डिनेटर गगनमान श्रेष्ठले सोधेको प्रश्नमा निवाले स्वच्छ खानेपानी वितरण, फोहोर व्यवस्थापनमा ध्यान दिने र नगरवासीलाई स्तरीय शिक्षा र स्वास्थ्य सुविधाको प्रत्याभूति दिने बताइन् । म यदि धरानको मेयर भएँ भने युवाहरुलाई विदेश नजान अपिल गर्दै धरानमै रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्नेछु, अर्थतन्त्रको विकासका र पर्यटनमा टेवा पुर्याउन धरानमा स्थानीय सम्पदाको प्रवर्द्धन र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्नेछु, मेरो ज्ञान डिजिटल मार्केटिङमा लगाउनेछु, निवाले भनिन्, नेतृत्व विकास र योजना व्यवस्थापनमा सरोकारवालाहरुसँग परामर्श गरी धरानको विकासमा लगाउनेछु । युवाहरुलाई निशुल्क अनलाइन शिक्षा प्रदान गर्नेछु । उनले युवा उद्यमीलाई स्थानीयस्तरमै अवसर सिर्जनाका लागि नीति तथा कार्यक्रम निर्माण गर्ने बताइन् ।
इटहरी इन्टरनेश्नल कलेजमा बिबिए सेकेण्ड इयर अध्ययनरत निवाको सटिक उत्तरमा निर्णायक मण्डलले उनलाई विजेता घोषणा गरे ।उनलाई आयोजक संस्थाका प्रमुख हरिहाङ तिगेलाले बिजेताको ताज लगाइदिए।
मिस धरान आइकन २०२३ को फस्ट रनरअप मिस इन्टेलेक्चुअलको सब टाइटल पाएकी अनु राई घोषित भइन् । उनले नगद ३० हजार रुपैयाँसँगै ३ महिनाको निशुल्क आइएलटिएस कोर्सको अवसर प्राप्त गरिन् । उनलाई मिस धरान आइकन २०२२ कि फर्स्ट रनर अप प्रेजिना राईले ताज लगाईदिए। त्यस्तै मिस ब्युटिफुल कम्प्लेसनको सब टाइटल विजेता जेसिका जोशी सेकेण्ड रनरअप बनिन् । उनले नगद २० हजार रुपैयाँसँगै ३ महिनाको निशुल्क आइएलटिएस कोर्स गर्ने अवसर प्राप्त गरिन् । उनलाई मिस धरान आइकन २०२२ कि सेकेन्ड रनर अप श्वेता बिस्वकर्माले ताज लगाईदिएका थिए।