काठमाडौं– इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरुलाई आफू असुरक्षित बन्दै गएको महसुस भएमा रोजगारदातासँग सल्लाह गरी सुरक्षित ठाउँमा स्थानान्तरण हुन सुझाव दिएको छ । दूतावासले शनिबार एक सूचना जारी गर्दै नेपालीहरुलाई स्थिति समान्य नबन्दासम्म घरबाहिर ननिस्कन आग्रह गर्दै उक्त सुझाव दिएको हो ।
इजरायलको गाजा पट्टीमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ । उक्त आक्रमणमा मृत्यु हुनेको संख्या दुई हजारभन्दा बढी पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । युद्ध प्रभावित क्षेत्रबाट उद्धार गरी २५४ जना नेपालीलाई नेपाल ल्याइसकिएको छ । उनीहरुलाई लिन गएको नेपाल एयरलाइन्सको चार्टर्ड विमान शुक्रबार बिहान काठमाडौं आइपुगेको थियो । सरकारले स्वदेश फर्कन चाहने बाँकीलाई पनि व्यावसायिक उडानबाट ल्याइने बताएको छ ।
त्यसरी आउने नेपालीलाई हवाई भाडाबापतको रकम उपलब्ध गराउने घोषणा सरकारले गरेको छ । यसका लागि इजरायलस्थित नेपाली राजदूतावासले अनलाइन फाराम भर्न आग्रह गरेको छ । उक्त फाराममा भरेको विवरणका आधारमा उद्धार गरिने बताइएको छ । निश्चित रोजगारदाता नभएका नेपालीले पनि फाराम भर्नसक्ने दूतावासले जनाएको छ । दूतावासका अनुसार नेपाल फर्किन चाहने २०० भन्दा बढीले फाराम भरिसकेका छन् ।
दूतावासले सूचनामार्फत त्यहाँको स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन विशेष अनुरोध गरेको छ । ‘पछिल्लो समय गाजा आसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्रमा जोखिम थप बढेको र इजरायल सरकारद्वारा ती क्षेत्रमा रहेकाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान सुझाइएकोले यदि तपाईं रहेको क्षेत्रमासमेत असुरक्षा बढ्दै गएको स्थिति छ भने आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्नुहोला,’ दूतावासले भनेको छ ।
सोही सूचनामार्फत सुरक्षित आश्रयस्थल नभएकाहरूले दूतावासलाई जानकारी गराउन पनि आग्रह गरिएको छ । नेपाल सरकारका साथै इजरायल सरकार र विभिन्न आधिकारिक निकायका सूचना एवं स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्दै नेपालीहरुलाई दूतावासको सम्पर्कमा रहन भनिएको छ । त्यसैगरी दूतावासले हाल कामको चाप अत्यन्तै धेरै रहेको जनाएको छ । एकैपटक कैयौं फोन तथा मेसेजहरु आउने हुँदा पटक–पटकको प्रयासमा पनि सम्पर्क हुन नसके अन्य मित्र तथा विभिन्न संघसंस्थासमेतको सहयोग लिन दूतावासले सुझाएको छ ।
गाजा पट्टीमा भएको आक्रमणपश्चात् उत्पन्न संकटका कारण थुप्रै नेपाली प्रभावित भएको पनि दूतावासले उल्लेख गरेको छ । पछिल्लो समय चार हजार ५०० नेपाली केयर गिभरको रुपमा इजरायलमा काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत थुप्रै नेपाली विद्यार्थी इजरायलमा काम गरिरहेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।
इजरायलले भर्खरै मात्र दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न थप ५०० सहायक कामदार (केयर गिभर)को माग गरे पनि द्वन्द्वको कारण अर्को सूचना प्राप्त नभएसम्म कुनै प्रक्रिया अगाडि नबढ्ने वैदेशिक रोजगार विभागले जनाएको छ । यसअघि पहिलो चरणमा झण्डै एक हजार २०० जना कामदार इजरायल गइसकेको विभागको तथ्यांकले देखाएको छ । रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा विभिन्न माध्यम प्रयोग गरी जाने गरे पनि सन् २०१७ मा नेपाल सरकारले जिटुजी सम्झौता गरी नेपाली कामदार पठाउन थालेको हो ।