काठमाडौं - शे-फोक्सुण्डो गाउँपालिकाका कार्यकारी अधिकृत सुमन ढकालले सबै नेपालीलाई आफ्नो पालिका भ्रमण गर्न आह्वन गरेका छन् l
डोल्पा जिल्लाको शे-फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन ढकालले गाउँपालिकाका विभिन्न स्थान तथा समुदायहरू भ्रमण गर्ने क्रममा सबै नेपालीलाई आफ्नो पालिका भ्रमण गर्न आह्वन गरेका हुन् l
करिब ५३०० मिटरको उचाईमा रहेको 'शे' पास हिमाल पुगेर आफैले खिचेको तस्बिर सार्वजनिक गर्दै शे-फोक्सुण्डोको प्राकृतिक स्थानको भ्रमण र अवलाेकन गर्न सबै नेपालीहरुलाई आह्वान गरेका छन् ।
उनले सामाजिक संजालमा यसाे लेख्छन्,"नेपाल सुन्दर देश हो भनेर लेखिन्छ, पढिन्छ। वास्तवमा नेपाल कति सुन्दर छ भन्ने कुरा आफूले अनुभूत गरेपछी मात्रै थाहा हुँदो रहेछ। माथिल्लो डोल्पाका बाटो गौँडाहरूमा, तालहरूमा, हिमालहरूमा, पाटनहरूमा, गाउँगाउँमा प्रशस्तै बिदेशी पर्यटकहरू भेटिन्छन्।
त्यसमा पनि प्रायः ६०/६५वर्ष उमेर पार गरिसकेका मानिसहरू हुन्छन्। उनीहरू लाखौं, करोडौँ रकम खर्चेर नेपालको सौन्दर्यताको अनुभूत गर्न आएका हुन्छन्। तर हामी आफ्नै देश घुमेका छैनौँ, घुम्ने इच्छा गर्दैनौँ । एकपटक सबैले आफ्नो देश घुमेर हेरौँ, हाम्रो देश साँच्चै नै गर्व गर्न लायक छ। सबै नेपालीहरूलाई शे-फोक्सुण्डो गाउँपालिका भ्रमण गर्न आह्वान गर्दछु।"
शे-फोक्सुण्डो गाउँपालिका ज्यादै नै भौगोलिक विकटता भएको स्थानीय तह भए पनि यहाँको भौगोलिक, साँस्कृतिक सौन्दर्यताले यहाँ आईपुग्ने पर्यटकहरू सबै दु:ख बिर्सेर साँच्चै नै मन्त्रमुग्ध हुने उनी बताउँछन्। ढकालले आफूले खिचेर सामाजिक संजालमा राखेका विभिन्न तस्वीरहरूले शे-फोक्सुण्डो गाउँपालिकाको भ्रमण गराईरहेका छन्। साक्षात्कार गर्न भने शे-फोक्सुण्डो गाउँपालिकामा स्वागत गर्न उनी आतुर रहेकाे बताए ।