काठमाडौं- इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी निधन भएका १० जना नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव भेटिएको छ । गत शनिबार दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी उनीहरुको निधन भएको थियो । इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावासका अनुसार निधन भएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र अशिष चौधरीको शव आइतबार प्राप्त भएको हो ।
उक्त घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको दूतावासले आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको र उपलब्ध संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी अझै तीव्र पारिएको विज्ञप्तिमा उल्लेख छ ।आक्रमणमा परी घाइते भएका चार जनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका छन् भने दुईजना अस्पतालमा उपचाररत छन् । अस्पतालबाट डिस्चार्ज भएकामध्ये एक जना नेपाल आइपुगिसकेका र एकजना दूतावासको हेरचाहमा रहेका छन् ।
इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा जोखिममा रहेका नेपालीहरुलाई त्यहाँबाट उद्धार गरी सुरक्षित स्थानमा सारिसकिएको दूतावासले जनाएको छ । सरकारले उद्धार गरिएकामध्ये २५४ जनालाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत गत शुक्रबार नेपाल ल्याइसकेको छ । बाँकी नेपाल फर्कन चाहनेलाई व्यावसायिक उडानमार्फत आउने व्यवस्था गरिएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताएका छन् । उनले व्यावसायिक उडानमार्फत आउनेको हवाई भाडा सरकारले बेहोर्नेसमेत जानकारी दिए । इजरायलस्थित नेपाली दूतावासका अनुसार नेपाल फर्कनका लागि अनलाइन फाराम भर्नेको संख्या हाल करिब २०० पुगेको छ ।