इजरायलमा हमासको आक्रमणमा परी अत्तलिएका नेपालीलाई सरकारले सहज रुपमा उद्धार गरेको छ । विकसित देशहरु उद्धारका लागि पुग्ने क्रम अझै बाँकी छँदा नेपालले भने अरु देशभन्दा पहिले नै आफ्नो देशका नागरिकलाई स्वदेश ल्याउन थालेको हो । सरकारको पहलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोली शुक्रबार २५४ नेपाली लिएर काठमाडौं फर्केको हो ।
प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपालीको ज्यान गएको छ भने एक जना अझै बेपत्ता छन् । यो घटनामा इजरायल पक्षमा नै एक हजार ४०० जनाको मृत्यु भएको र केही अझै हमास समूहको कब्जामा रहेको बताइएको छ । यता इजरायलले गरेको जवाफी कारबाहीमा परी दुई हजार बढी प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ ।
वैदेशिक रोजगारी र पढाइका क्रममा इजरायलमा पुगेका नेपाली युद्धमा फस्ने भएपछि जनस्तरबाट उनीहरुको उद्धार हुनुपर्ने माग राखेका थिए । इजरायलमै रहेका विद्यार्थीहरुले पनि आफूहरुलाई उद्धार गर्न अनुरोध गरेका थिए । लगत्तै सरकारले चार्टर जहाज लगेर विद्यार्थीको उद्धार गरेको हो ।
इजरायलमा जुनसुकै बेला जेसुकै हुनसक्छ । गाजा क्षेत्रमा इजरायलले आक्रमण बढाउँदा इरानले जे पनि हुन सक्ने धम्की दिएको छ । गाजा क्षेत्रमा इजरायलले कब्जा गर्न खोजिरहेको छ । इरानले यो क्षेत्र इजरायलले लिए जेसुकै हुनसक्ने धम्की दिएको हो । इरान इस्लामिक देशको पक्षमा उभिएको देश हो । यस्तो अवस्थामा थप नेपालीहरु स्वदेश फर्कन चाहिरहेका छन् । उनीहरुलाई उद्धारमा कुनै कसूर बाँकी नराख्ने सरकारले जनाएको छ । यो बीचमा सरकारले ज्यान गुमाएका शव पनि ल्याँउदै छ ।
सरकारी तथ्यांकअनुसार इजरायलमा चार हजार ५०० जना नेपाली केयर गिभर छन् । विभिन्न बाटोबाट पुगेका नेपालीहरु पनि छन् । पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै सरकारले इजरायलको श्रम स्वीकृति बन्द गरेको छ । जुनसुकै देशमा पुग्दा पनि नेपाली श्रमिकहरु जोखिमको सिकार भइरहेका छन् । मुस्लिम–इस्लाम द्वन्द्वका कारण नेपालले पटक–पटक आफ्नो नागरिकलाई गुमाउनुपरिरहेको छ ।
यस्तो अवस्थामा इजरायलको श्रम स्वीकृति बन्द गरिनु निकै जायज देखिन्छ । यसरी नै यस्तो गम्भीर अवस्थामा इजरायलबाट सरकारले नेपाली विद्यार्थी र रोजगारीको सिलसिलामा त्यहाँ पुगेकाहरुको उद्धार गर्नु स्वागतयोग्य कदम हो ।