काठमाडौं– सरकारले रोजगारीका लागि इजरायल जान दिँदै आएको श्रम स्वीकृति बन्द गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलको गाजा पट्टीमा हमास समूहले आक्रमण गरेपछि उत्पन्न संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै इजरायल जाने श्रमिकलाई श्रम स्वीकृति दिन बन्द गरेको जानकारी दिएको छ ।
हमासले आक्रमण गरेपछि सो क्षेत्रमा जवाफी आक्रमण गर्दै इजरायलले दीर्घकालीन युद्वको घोषणा गरिसकेको छ । यस्तो अवस्थामा रोजगारीको अवसर भए पनि जोखिमका कारण कामदार पठाउन नसकिने विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए ।
‘हमास–इजरायल युद्ध लम्बिने देखिएका कारण सामान्य परिस्थिति नबनेसम्म श्रम स्वीकृति दिन बन्द गर्ने निर्णय भएको छ,’ उनले भने, ‘अहिलेको विषम् परिस्थितिमा श्रम स्वीकृति पाएका र हवाई टिकट लिइसकेका कामदालाईसमेत इजरायल जान रोक लगाइएको छ ।’
केही दिनअघि इजरायल उड्ने मिति निश्चित भइसकेकाका २४ जना कामदारलाई नजान आग्रह गर्दै विभागले रोक लगाएको थियो । हाल युद्धका कारण रोजगारी तथा पढाइका लागि इजरायल पुगेका नेपालीहरु प्रभावित भएका छन् ।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल इजरायलमा चार हजार ५०० नेपाली केयर गिभरको रुपमा काम गरिरहेका छन् । पछिल्लोपटक सरकारले जिटुजी सम्झौता गरेयता सरकारी तवरबाट रोजगारीका लागि झण्डै एक हजार २०० नेपाली इजरायल पुगेको विभागको तथ्यांकले देखाएको छ ।
युद्धकै कारण इजरायलले भर्खरै मात्र दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न थप ५०० सहायक कामदार (केयर गिभर)को माग गरे पनि सबै प्रक्रिया स्थगित गरिएको विभागले जनाएको छ ।त्यसैगरी युद्धकै कारण थप कामदार पठाउने र कृषिसहितका अन्य क्षेत्रमा पनि नेपाली कामदारको माग भएको सन्दर्भमा वस्तुस्थिति अध्ययन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गर्ने भनिएको श्रममन्त्रीस्तरीय भ्रमणसमेत प्रभावित भएको छ ।