दसैं मनाउन घर जाने क्रममा सवारीसाधनले सहर छाड्ने क्रम बाक्लिँदै छ । दसैंमा सहरबाट गाउँतिर जाने सवारीसाधनको चाप हुन्छ । यो बेला दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ । दसैंको छेकोमा विभिन्न सडकमा दुर्घटना भएको समाचार बढ्न थालेको छ । सोमबारमात्र काठमाडौंबाट झापा लागेको हायस माइक्रोबस दुर्घटना हुँदा १८ जना घाइते भए ।
टायर खुस्किएर उक्त माइक्रोबस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । सोमबार नै धादिङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भयो । बाँकेको खजुरामा सडक दुर्घटनामा परी एक विद्यार्थीले ज्यान गुमाए । आइतबार काभ्रेको पाँचखलमा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भयो । शनिबार सिन्धुपाल्चोकको खाडीचौरमा बसले किच्दा एक जनाको घटनास्थलमै मृत्यु भयो ।
अघिल्ला वर्षहरुको तुलनामा पछिल्ला वर्षमा सडक सुरक्षा बढे पनि दुर्घटना घटेको छैन । दुर्घटनामा पहिलेपहिले सवारी चालकलाई मात्र दोष दिने प्रवृत्ति थियो । अहिले भने दुर्घटनाका विभिन्न कारण पहिचान भएको छ । चालक, यात्रु, सडक, सवारीसाधनमा हुने कमजोरी, व्यवहार आदि सबै दुर्घटनाका कारण हुन् । सवारीधनी र चालकलाई आम्दानीको हतारो हुन्छ । यात्रुलाई अटाइनअटाइ भए पनि गन्तव्यमा पुग्नैपर्ने हुटहुटी हुन्छ ।
भारी सामानका कारण धेरैजसो गाडी ‘ओभरलोड’ हुँदा सन्तुलन गुमाउँछ । सवारीसाधनका कन्डिसन ठीक नहुँदा झापा जाँदै गरेको हायस दुर्घटना भएको देखिन्छ । यसमा चालक र सवारीधनीले ध्यान नदिएको देखिन्छ । पुराना र बिग्रेका सवारीसाधनको प्रयोगले दुर्घटना बढ्ने नै भयो । ट्राफिक प्रहरीले जाँच गर्दा चालक अनुमतिपत्र र राजस्व तिरेको छ कि छैन भन्ने विषयमा मात्र ध्यान दिन्छ । त्यसैगरी मापसे र लापसेको जाँच हुन्छ । मान्छेको कन्डिसनतिर ध्यान दिए पनि गाडीको कन्डिसन कस्तो छ भनेर जाँच्ने प्रविधि हामीसँग छैन ।
त्यसमाथि वर्षा यामपछिका बिग्रेर मर्मत गर्न नभ्याइएका बाटामा सवारी कुदाउँदा त्यसले पनि दुर्घटनाको दरलाई बढाउने नै भयो । सडक प्रयोगकर्ता, सवारी प्रयोगकर्ताको गल्ती पनि प्रशस्तै देखिन्छ । सिन्धुपाल्चोकको खाँडीचौरमा भएको दुर्घटना सवारी प्रयोगकर्ताको कमजोरीका कारण भएको देखिन्छ । चालक बढी नै उत्साहित हुँदा पनि दुर्घटना भएका उदाहरण छन् । दसैंमा नयाँ चालक, नयाँ सवारी, नयाँ बाटोले गर्दा तालमेल नमिल्न सक्छ । यसैले सडक सुरक्षा बढाउन र दुर्घटना घटाउन सबैले ध्यान दिऔं । आफ्नो गल्तीले अरुको ज्यान अकालमा नजाओस् ।