काठमाडौं - वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेर विभिन्न समस्या झेलिरहेका थप ५४ जना नेपाली श्रमिकले ‘एक्जिट भिसा’ पाएका छन् । साउदीको अध्यागमन कार्यालयले हुरुब (कम्पनी छोडेर भागेका) लागेका र इकामा (बस्ने अनुमति) सकिएका वा नपाएका ५४ जनालाई एक्जिट भिसा दिएको हो ।
नेपाली दूतावास रियादबाट प्रक्रिया अगाडि बढाएका उनीहरुलाई एक्जिट भिसा दिइएको दूतावासले जनाएको छ । एक्जिट भिसा प्राप्त गरेका नेपालीहरुलाई यथाशीघ्र साउदी छोड्न जानकारी दिँदै समयमै भिसाको म्याद हेर्न पनि दूतावासले आग्रह गरेको छ । एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने र यसबापत कुनै पनि निकायमा कुनै शुल्क बुझाउनु नपर्ने दूतावासले जनाएको छ ।
तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । एक्जिट भिसामा भएको राहदानी/ट्राभल डकुमेन्ट नम्बर र आफूसँग भएको राहदानी÷ट्राभल डकुमेन्ट नम्बर एउटै भए÷नभएको यकीन गरेरमात्र हवाई टिकट खरिद गर्न दूतवासले सुझाएको छ ।
दूतावासले इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेका वा साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा प्राप्त नगरेका वा हुरूब लागेका व्यक्तिको मात्र एक्जिट भिसा प्रोसेसिङ गरिदिने प्रस्ट पारेको छ ।
त्यसैगरी, कुनै केस वा जरिवाना छ भने त्यसको छिनोफानो नभएसम्म एक्जिट भिसा नलाग्ने र भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन कार्यालयसँग मात्रै हुने दूतावासले जनाएको छ ।यसैबीच एक्जिट भिसा प्रक्रियाका लागि रोजगारीको सिलसिलामा विविध कारणले जरिवानामा परेका व्यक्तिहरुको विवरण संकलन कार्य सुरु गरेको दूतावासले जनाएको छ ।