काठमाडौं– घाँटीमा रातो खादा । निधारमा रातै टीका । जापान यात्रा शुभ रहोस् भनेर गोरखाकी सुमित्रा परियारलाई आमा र सानीमाले मंगलबार लगाइदिएका हुन् । त्यसक्रममा सुमित्राले आमा र सानिमाबाट आशीर्वाद पनि पाइन् ।देशमा दसैंको चहलपहल सुरु भइसक्दा सुमित्रा जापान उडान समयको प्रतीक्षा गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकको विश्रामस्थलमा थिइन् । आमा र सानीमाको बीचमा बसेकी उनले फ्याट्ट भनिन्, ‘देशमा पढेर पनि काम पाइँदैन । बरु, जापानमै पढ्दै काम गर्छु ।’
उनको भनाइले ‘स्टुडेन्ट भिसा’मा जापान जान लागेको अनुमान गर्न असहज छैन । तर, छोरी सुमित्राको उडान समय घण्टा हुँदै मिनेटतिर झर्दै गर्दा आमाको अनुहारमा अँध्यारो बढ्दै थियो । घरिघरी गला अबरुद्ध हुन्थ्यो ।उनले भनिन्, ‘आफ्नो सन्तानलाई चाडबाडको बेला टाढा पठाउन लाग्दा कुन आमाको मन खुसी होला र ?’ यति भनेर उनी डाँको छाडेर रोइन् । सुमित्राले आमालाई अर्को वर्ष दसैंमा आइहाल्छ आमा भन्दै सम्हाल्ने प्रयास गरिन् । तर, आमाको आँखाबाट आँसुका थोपाहरु झरिरहे ।
उनीहरूको पछाडिपट्टि रहेको भित्तामा अंग्रेजीमा ‘त्रिभुवन इन्टरनेसनल एयरपोर्ट’ लेखिएको छ । त्यहाँ मोरङका सुनिल विक पनि खादा लगाएर आमा र फूपूसँग सेल्फी खिच्दै गरेको देखिए । देश छाड्नुभन्दा पहिले यस ठाउँमा अधिकांशले तस्बिर खिचाउँछन् । सुनिलले पनि त्यही गरे । उनी संयुक्त अरब इमिरेट्स (युएई) जान लागेका रहेछन् । उनलाई पनि आमा हेमाले खादा पहिर्याइदिएकी थिइन् ।
‘बिहे गरियो । अब त गरिखानुपर्यो । आमाबाउ पाल्नुपर्यो । देशमा त रोजगारी नै छैन,’ उनले प्रभावसँग भने, ‘तनाव छ । हेरौं के हुन्छ ।’सुनिलको यस्तो कुरा सुनेर आमा हेमा भावुक भइन् । उनले सरकारले पाखुरीमा बल भएका युवायुवतीलाई रोजगारी दिए आफ्ना छोरा पनि विदेश नपर्ने बताइन् ।‘छोरालाई विदाइ गर्न आएको । नरमाइलो लागेको छ,’ आँसु पुछ्दै हेमाले भनिन्, ‘के गर्नु ! आफ्नै देशमा सरकारले रोजगारी दिए विदेश पठाउनुपर्ने थिएन ।’
आफ्नो सन्तानलाई चाडबाडको बेला टाढा पठाउन लाग्दा कुन आमाको मन खुसी होला र ?
सुमित्रा परियारकी आमा
आज दसैंको चौथो दिन । अबको छैटौं दिनमा मान्यजनबाट आशीर्वाद लिने र आफन्तहरू भेटघाट गरेर मिठोमसिनो खाने चलन छ । तर, दसैंअघि नै सुमित्रा, सुनिललगायत सयौं युवायुवती रोजगारीकै लागि जन्मी हुर्केको देश छाड्न बाध्य हुनुपरेको छ ।वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार त्रिभुवन विमानस्थल हुँदै दैनिक विदेसिनेहरूको संख्या औसतमा दुई हजार जना छ । विदेसिनेमध्ये धेरै श्रमशक्तिका रूपमा जाने हुन् ।
उसो त गत वर्षको मंसिरमा चुनाव हुनुअघि दलहरूले घोषणापत्रमा रोजगारी योजना सार्वजनिक गरेका थिए । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रले पाँच वर्षमा २० लाख नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको थियो ।
सत्तामै रहेको दल नेपाली कांग्रेसले १२ लाख ५० हजार जनालाई र प्रमुख विपक्षी दल नेकपा एमालेले पाँच लाख नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित भएको १०० औं दिनमा विदेशबाट १०० नेपालीलाई स्वदेश फर्काएर रोजगारी दिने जनाएका थिए । राप्रपालगायत अन्य दलहरूले पनि पाँच वर्षे रोजगारी योजना अघि सारेका थिए । तर, यी सबै रोजगारीसम्बन्धी प्रतिबद्धता पूरा गर्न कोही पनि तयार भएका छैनन् ।
छोरालाई विदाइ गर्न आएको । नरमाइलो लागेको छ । के गर्नु ! आफ्नै देशमा सरकारले रोजगारी दिए विदेश पठाउनुपर्ने थिएन ।
सुनिल विककी आमा
मंगलबार नै मलेसिया उडान हुनुअघि मुगुका पूर्णबहादुर रावलले दलहरूले रोजगारीसम्बन्धी योजनालाई चुनाव सकिएसँगै बिर्सेको बताउँछन् । उनलाई देशमा रोजगारी सिर्जना होला भन्ने विश्वास पनि छैन । ‘यो देश हामीजस्ता युवायुवतीहरू बस्नलाई योग्य छैन । न रोजगारी छ, न केही ? किन बस्ने यहाँ ?,’ रावलले भने, ‘यहाँ त भ्रष्टाचारी, दलाल, ठग, तस्कर र बिचौलियामात्रै बस्ने हुन् ।’
नेपालको राष्ट्रिय जनगणना–२०७८ ले सार्वजनिक एक तथ्यअनुसार नेपालको ग्रामीण भेगमा धेरै बूढापाका र बालबालिकाहरू छन् । युवायुवतीहरूको संख्या कम छ । कतै त युवाहरू नहुँदा शव बोक्ने र सद्गद् गराउने पनि महिलाहरू हुनुपरेको छ । यसो हुनुमा युवायुवती देश छाडेर विदेश जानु भएको विश्लेषकहरु बताउँछन् । देशमा यस्तो विषम् परिस्थितिमा पनि सरकार रोजगारी सिर्जना गर्नबाट चुकेको छ ।
देशमा रहेका बेरोजगारहरूलाई रोजगारी दिन केही वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालित त छ । तर, कार्यक्रमकै प्रभावकारितामाथि प्रश्न उठेको छ । स्थानीय तहदेखि प्रदेशसम्मकै संरचना पनि संघीय सरकारले जसरी रोजगारी सिर्जना गराउन चुकेका छन् ।