सिराहा– सिराहाको कर्जन्हा नगरपालका–४ स्थित भुल्केमा दश दलित परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ । नगरपालिका र भवानी एकीकृत विकास केन्द्रको सहयोगमा तीन कोठा र एक शौचालयसहितको घर हस्तान्तरण गरिएको हो ।
सुरुवातमा दश घर हस्तान्तरण गरिए पनि निर्माणको क्रममा रहेका अन्य ५५ घर दलित परिवारलाई हस्तान्तरण गरिने नगर प्रमुख भोलाप्रसाद पोखरेलले जानकारी दिए। आर्थिक अवस्था कमजोर भएका दलित परिवारलाई पालिकाले केन्द्रसँग समन्वय गरी पक्की घर निर्माण गरेको उनको भनाइ थियो ।
“नमुना बस्तीकारुपमा विकास गर्ने योजना अनुसार दलित परिवारका लागि पक्की घर बन्दैछन् । पहिलो चरणमा १० परिवारलाई घर हस्तान्तरण गरिएको छ”, नगर प्रमुख पोखरेलले भने, “बाँकीका लागि ५५ घर निर्माणको क्रममा छन् । छिट्टै नवनिर्मित घर हस्तान्तरण गरिने छ ।”
आर्थिक रुपमा कमजोर रहेका दलित वर्गको उत्थानका साथै उनीहरुको सहज जीविकोपार्जनका लागि नगरपालिकाले क्रमिक रुपमा कार्य गर्दै आएको उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठले बताए।
यहाँका दलित परिवारले पक्की घर पाएपछि नगरपालिका र संस्थाका प्रतिनिधिलाई धन्यवाद व्यक्त गर्दै खुसी मनाएका छन् ।