कञ्चनपुर-चाडपर्व सुरु भएसँगै कञ्चनपुरका साना ठूला बजारमा चहलपहल बढेको छ । पछिल्लो केही दिनययता बजार क्षेत्रमा किनमेल गर्नेको भीड लाग्ने गरेको छ ।
अन्य समयको तुलनामा चाडबाडमा किनमेल गर्नेको सङ्ख्या बढी हुनाले व्यापार राम्रो हुने गरेको महेन्द्रनगरका व्यापारी दुर्गादत्त भट्टले बताए । ‘चाडबाडमा मानिसको बजारमा ओहोरदोहोर बढेको छ, लत्ताकपडा तथा सामान किनमेल गर्ने हुनाले यो समयमा व्यापार राम्रै हुन्छ’, व्यापारी भट्टले भने ।
चाडपर्वको समय सुरु भएकाले बजारमा भीडभाड बढेको महेन्द्रनगरकै अर्का व्यापारी जयसिंह भण्डारीको भनाइ छ । ‘बजारमा भीडभाड बढेकाले व्यापार हुने आशा छ’, व्यापारी भण्डारीले भने, ‘अरु समय भन्दा चाडबाडमा बढी व्यापार हुने गर्छ ।’
गाउँ शहरमा दसैँ तिहारको रौनक छाएको छ । चाडपर्वले घरबाट टाढा रहेका घर फिर्ती भएका छन । चाडपर्वको किनमेल सुरु भइसकेको छ । सुस्ताएको व्यापार चाडपर्वले चलायमान बनाउने व्यापारीको विश्वास छ ।
बजारमा चहलपहल भए पनि व्यापार भने मन्द रहेको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले बताए । ‘चाडबाड सुरु भइसक्दा पनि अझै व्यापार चलायमान हुन सकेको छैन, आर्थिक मन्दी छ’, अध्यक्ष जोशीले भने, ‘व्यापार खस्किँदै गएको छ ।’
कोरोना महामारीपछि व्यापार व्यवसाय निकै धरासायी भएको उनको भनाइ छ । घर बाहिर रहेकाहरु आफू रहेको ठाउँमै चाडपर्व मनाउन थालेपछि बजारमा चहलपहल घटेको अध्यक्ष जोशीले जानकारी दिए ।
‘भारत तथा विदेशमा रहेका पनि चाडबाड त्यतै बनाउन थाले, त्यसैले पुर्खौली थातथलोमा चहलपहल विगतको तुलनामा निकै कम छ’, अध्यक्ष जोशीले भने, ‘महंगी पनि निकै बढेको छ, त्यसैले पनि विगतको जस्तो व्यापार छैन ।’
नेपाली बजारभन्दा भारतीय बजारमा सामान सस्तो पाइने हुनाले उपभोक्ता किनमेलका लागि सीमावर्ती भारतीय बजार जाने गरेका छन ।