काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जर्मनी र रोमानियासँग गरिएको श्रम समझदारीले युरोपमा नेपालीहरुलाई रोजगारीको ढोका खोलेको बताएका छन् । मन्त्री भण्डारीले बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा बडा दसैं, तिहार, छठ पर्व र नेपाल संवत् ११४४ लगायतका अवसरमा शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् ।
वैदेशिक रोजगारीको क्षेत्रमा थुप्रै सुधारका कार्य भइरहेको भन्दै उनले स्वदेशमा बस्नका लागि आर्थिक स्थिति सुदृढ नभएसम्म विदेश जाने नेपालीको क्रम नरोकिने बताए । वैदेशिक रोजगार बाध्यात्मक भएकाले विदेशिने कसैलाई पनि रोक्न नसकिने मन्त्री भण्डारीको भनाइ छ । यस्तो अवस्थामा मलेसिया र खाडी मुलुकमा केन्द्रित हुँदै आएको श्रम गन्तव्य अब युरोपतिर मोड्नुपर्नेमा उनले जोड दिए ।
‘युरोपलाई श्रम गन्तव्य बनाउने सरकारको योजनाअनुरुप नै पछिल्लो समय जर्मनी र रोमानियासँग श्रम समझदारी गरिएको हो,’ मन्त्री भण्डारीले भने, ‘युरोपमा विभिन्न माध्यमबाट धेरै नेपाली पुगेका छन्, श्रमिकको सुरक्षा र आम्दानीको हिसाबले पनि युरोप बढी सुरक्षित छ ।’यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा युरोप रोजगारीलाई लक्षित गर्दै राज्यका विभिन्न अंग, सरोकारवाला र १३ देशका राजदूतसहितको उच्चस्तरीय बैठकले पनि ४७ बुँदे निर्णय गर्दै युरोपलाई अबको गन्तव्य बनाउनुपर्ने म्याण्डेड दिएको थियो । सोहीअनुरुप रोमानिया र जर्मनीसँग श्रम समझदारी गरेर नयाँ गन्तव्यको बाटो निर्माण गरिएको मन्त्री भण्डारीले बताए ।
गत आर्थिक वर्षमात्रै १४ हजारभन्दा बढी नेपाली रोमानिया पुगेको उनले बताए । सरकारले गरेको श्रम समझदारीबाट श्रमिकले थप अवसर प्राप्त गर्न सक्ने उनको भनाइ छ । ‘धेरै कुरा बुझ्दा रोमानिया उचित गन्तव्य देखियो, विदेशी श्रमिकमध्ये त्यहाँ जाने नेपालीहरुको संख्या दोस्रो स्थानमा रहेको जानकारी पाइयो,’ मन्त्री भण्डारीले भने । रोमानियासँग भएको श्रम समझदारीले युरोपको रोजगारीमा नयाँ आयाम थपेको उनको भनाइ छ । जर्मनीबाट निकै टाढा र थुप्रै नेपाली रहेका कारण रोमानियामा नेपाली दूतावास स्थापनाका लागि पनि पहल भइरहेको उनले जानकारी दिए ।
त्यसैगरी जर्मनीसँग गरिएको श्रम समझदारीले पनि नेपालीहरुलाई सम्मानजनक रोजगारीको अवस्था सिर्जना भएको मन्त्री भण्डारीले बताए । जर्मनीमा श्रमिकलाई कसरी पठाउने भन्ने सम्बन्धमा दुवै मुलुकका संयुक्त कार्यसमितिले निर्णय गर्ने उनले जानकारी दिए । ‘संयुक्त कार्यसमितिले तय गरेको निर्णयअनुसार जर्मनीमा जाने श्रमिकको आधारभूत मापदण्ड बन्नेछ,’ मन्त्री भण्डारीले भने, ‘समझदारीअनुसार नेपाली श्रमिकको पारिश्रमिक, सेवासुविधा जर्मनी नागरिकसरह हुनेछ ।’ ८० प्रतिशत साना तथा मझौता उद्योग व्यवसाय रहेको जर्मनीमा सबै रोजगारीका क्षेत्र खुला रहेकाले आफ्नो सीप र दक्षताअनुसार श्रमिकले काम गर्ने अवसर प्राप्त हुने उनले बताए ।
जर्मनी र रोमानियासँग श्रम समझदारी गरेसँगै युरोपका अन्य मुलुकसँग पनि सम्झौताको लागि विभिन्न चरणमा छलफल भइरहेको मन्त्री भण्डारीले बताए । उनका अनुसार माल्टा, क्रोएसिया, साइप्रस र पोर्चुगलसँग श्रम समझदारीको लागि डकुमेन्ट आदानप्रदान गर्ने काम भइरहेको छ । यी मुलुकहरुसँग छिट्टै सम्झौता हुने मन्त्री भण्डारीले विश्वास व्यक्त गरे । त्यस्तै टर्की, सेसेल्स, पोल्याण्डसँग पनि श्रम समझदारी नजिक पुगेको उनले जानकारी दिए ।