- तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा
- शनिबार साँझसम्म कोही पनि पक्राउ परेका छैनन्
- मृतकहरूको शव परीक्षण
- शंकास्पद केही प्रहरीको निगरानीमा
काठमाडौं– एकै परिवारका चार जनाको सामूहिक हत्या भएको मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा नेपाल प्रहरीको विभिन्न अनुसन्धान टोली खटिएका छन् ।प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट अपराध अनुसन्धानका लागि कुकुरसहितको प्रहरी टोली, सुर्खेतबाट वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र जुम्लाबाट अनुसन्धानका लागि अर्को टोली पनि खटिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाको कमाण्डमा अर्को टोली पनि घटनाको अनुसन्धान गर्न घटनास्थलमा छ । तर, समाचार तयार पार्दासम्म हत्या घटनामा संलग्न भएको आरोपमा कोही पनि पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रवक्ता तथा प्रहरी निरीक्षक प्रकाश कार्कीले केही व्यक्तिलाई भने निगरानीमा राखिएको बताए । ‘अहिलेसम्म हामीले कसैलाई पनि पक्राउ गरेका छैनौं । अनुसन्धानमै छौं,’ उनले शनिबार साँझ प्रभावसँग भने, ‘शंकास्पद केहीलाई निगरानीमा राखेका छौं ।’
शुक्रबार बिहान २८ वर्षीया श्रीदेवी बोहोरा, सात महिने छोरा रहर, आठ वर्षीया छोरी अप्सरा र ११ वर्षीय छोरा मनोज बोहोराका शव घरमै हत्या भएको अवस्थामा फेला परेका थिए । प्रहरी निरीक्षक कार्कीका अनुसार उनीहरूको शरीरको ठाउँठाउँमा धारिलो हतियार र ढुंगा प्रहार भएको देखिएको छ । शवहरूको शनिबार नै नेपालगञ्जबाट फरेन्सिक विशेषज्ञहरूको टोली घटनास्थल पुगेपछि जिल्ला अस्पतालमा परीक्षण गरिएको छ ।
गाउँलेहरूको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक कार्कीले बताएअनुसार मृतक आमा श्रीदेवी आफ्ना छोराछोरीसहित ७ गते बिहान दसैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । ८ गते बेलुका उनीहरू घर फर्केका थिए । तर, १० गते शुक्रबार बिहानसम्म उनको घर ताला लागेको अवस्थामा थियो ।
त्यसपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले शुक्रबार बिहान १० बजेतिर ढोकाको ताला फोडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका थिए । लगत्तै गाउँलेहरूले प्रहरीलाई खबर गरे र जिल्ला प्रहरी प्रमुख डिएसपी थापाको कमाण्डमा टोली घटनास्थल पुगेको थियो ।
घटनास्थलमै रहेका प्रहरी निरीक्षक कार्कीले श्रीदेवीको घरको धनमाल नभएको र लगाइएका गहना पनि नभएको बताएका छन् । यी तथ्यहरूले लुटपाट गर्ने क्रममा लुटेराहरूले परिवारका सबैको हत्या गरेको हुन सक्ने देखिएको कार्की बताउँछन् । मृतक श्रीदेवीका पति वैदेशिक रोजगारीमा रहेका छन् ।