काठमाडौं– गैरआवासीय नेपाली एवं सरोकारवालाहरुले दलका नेताहरुकै कारण युवाहरु विदेसिन बाध्य भएको बताएका छन् । उनीहरुले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनको क्रममा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एनआरएनप्रति दिएको अभिव्यक्तिको कटाक्ष गर्दै यस्तो बताएका हुन् ।
नेताहरुकै कारण नेपाली युवा विदेसिन परिरहेको अवस्थामा झाँक्रीको अभिव्यक्ति गैरजिम्मेवार रहेको उनीहरुको भनाइ छ । महाधिवेशनको क्रममा सचिव झाँक्रीले एनआरएनलाई दिएको दोहोरो नागरिकताको सुविधामा राजनीतिक अधिकार नभएको स्पष्ट पार्दै विदेशमा बसेर नेपालबारे टिप्पणी नगर्न आग्रह गरेकी थिइन् । दोहोरो नागरिकतामा पूर्ण अधिकार नदिइएको भन्दै एनआरएनहरुबाट विरोध उठेपछि उनले सो अभिव्यक्ति दिएकी थिइन् ।
पत्रकार सम्मेलनमा बोल्दै श्रीराम कँडेलले झाँक्रीजस्ता नेताहरुकै कारण आफूहरु विदेसिनु परेको आरोप लगाए । ‘राजनीतिले नेपाललाई बिगा¥यो, कमजोर बनायो, अहिले एसियाको एक नम्बर गरिब भइसक्यो । अब विश्वको एक नम्बरमा पु¥याउने दौडमा नेताहरु छन्,’ उनले भने ।एनआरएनहरुले विदेशमा बाध्यताले त्यहाँको ग्रिनकार्ड, पिआरलगायतको सुविधा लिएको उनको भनाइ छ । त्यहाँको ग्रिनकार्ड, पिआर लिनु नेपालीहरुका लागि रहर नभएर बाध्यता रहेको उनको दाबी छ । त्यहाँको सेवा, सुविधा लिन, बैंक खाता सञ्चालन गर्नलगायतका काममा त्यहाँको स्थायी आवासीय प्रमाणपत्र लिन नेपालीहरु बाध्य हुने कँडेलले बताए ।
‘नेपालमा बस्नका लागि युवाहरुलाई अत्यन्त कठिन र पीडा भएपछि बाध्यताले पेट पाल्न र आफ्नो सन्ततीको भाग्य भविष्य निर्माण गर्न विदेश जानुपरेको हो,’ उनले भने, ‘रामकु्मारी झाँक्रीजस्ता नेताहरुले यो बाध्यता बुझ्न आवश्यक छ ।’ विदेसिएका नेपालीले त्यहाँको ग्रिनकार्ड, पिआरलगायतको सुविधा लिँदैमा यहाँको वंशजको नागरिकता त्याग्नुपर्ने व्यवस्था उपयुक्त नभएको उनको भनाइ छ । आफ्नो देशमा रोजगारी नभएर विदेसिएका नेपालीहरुको वंशजको नागरिकताको सम्बन्ध टुटाउने वातावरण अहिलेको व्यवस्थाले गरेको कँडेलले जिकिर गरे ।
अर्का वक्ता एनआरएनएका अभियन्ता कृष्ण खतिवडाले आफूहरुले भित्रभित्रै उठाइरहेको बहस झाँक्रीले सुनामीको रूपमा नेपाली राजनीतिमा ल्याइदिएको भन्दै धन्यवादव्यक्त गरे । झाँक्रीको अभिव्यक्तिले यो मुद्दालाई हरेक घरघरमा पु¥याएको उनले बताए । आज नेपालमा रोजगारी र अवसर नपाएर विदेसिने युवाहरु हरेक घर–घरमा रहेको बताउँदै उनले विदेशमा गएपछि त्यहाँको परिस्थितिमा बाँच्ने र टिक्ने उपाय गर्नु स्वाभाविक भएको बताए । विदेशमा गएपछि पिआर लिनु बाध्यता रहेको उनको भनाइ छ । अहिलेको संविधानका कारणले विदेशमा गएर दुःख गरिरहेका मूलवासीलाई बाहिर लखेट्ने काम भएको उनले बताए ।
प्रायः एनआरएनएलाई विदेशमा दुःख नभए पनि आफूहरु आत्मसम्मानका लागि बोलिरहेको उनले बताए । मूलवासीलाई विदेश लखेट्ने र विहारीले देश भर्ने काम भइरहेको उनको आरोप छ । नेपालको कानुनले नेपाली मुलवासीलाई नेपाल फर्किने र अधिकारको उपभोग गर्ने ढोका बन्द गर्न नहुने उनले बताए ।अर्का वक्ता योगेन क्षेत्रीले यो देशमा बस्न पाउने र नागरिकताको अधिकार एनआरएनले पनि पाउनुपर्ने बताए । संसारको कुनै पनि देशले वंशजको नागरिकलाई कानुन बनाएर, नियम बनाएर अनागरिक बनाउन नपाउने उनले बताए ।
नागरिकता प्राप्त गरेर राजनीतिक अधिकार हुने नागरिकता संसारको कुनै पनि देशमा नरहेको र यो व्यवस्था संयुक्त राष्ट्रसंघको वडापत्रको विरुद्ध रहेको उनको दाबी छ । अहिले एनआरएनएमा राजनीतिक दलका केही व्यक्तिहरु गएर कब्जा गरेर बसेको आरोपसमेत उनले लगाए । यहीँका राजनीतिक दलका नेताहरुले कब्जा गरेको कारण अहिले एनआरएनएमा भाँडभैलो रहेको उनले बताए ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले विश्वका २०१ देशमध्ये १८६ देशले दोहोरो नागरिकताको सिद्धान्त स्वीकार गरेको बताए । इमरान खान अमेरिकाको पनि नागरिक हुँदाहुँदै पाकिस्तानको प्रधानमन्त्री बनेको उदाहरण उनले प्रस्तुत गरे । त्यसैगरी बेलायतका वर्तमान प्रधानमन्त्री ऋषि सुनक पनि अमेरिकाको ग्रिनकार्ड होल्डर भएको उनको भनाइ छ । दोहोरो नागरिकताबारे नेपालमा २०६३ सालपछि समस्या आएको अधिवक्ता न्यौपानेले बताए ।
नागरिकता ऐन २०६३ बनाएर जन्मको आधारमा नेपालको नागरिकता दिने व्यवस्था गरेको भन्दै उनले आपत्ति जनाए । नेपालमा रहेको विभिन्न देशका शरणार्थीले समेत नेपालको नागरिकता पाएको उनको दाबी छ । राज्यले रोजगार दिन नसकेर विदेसिएका नेपाली वंशजको नागरिकलाई सरकारले कानुन बनाएर ‘अब तिमी नेपाली रहेनौं’ भनेको उनले बताए ।