काठमाडौंं– चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो महिना अर्थात् असोजमा वैदेशिक रोजगारीका लागि ५६ हजारभन्दा बढी नेपाली श्रमिक विदेसिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार असोज महिनामा ५६ हजार २३५ जना नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा गएका हुन् । विभागको तथ्यांकअनुसार असोजमा विदेसिने नेपालीको संख्या गत भदौ महिनाको भन्दा पाँच हजार ३५१ ले बढेको छ । भदौमा ५० हजार ८८४ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।
चालु आवको सुरुआती महिनादेखि संयुक्त अरब इमिरेट्स (युएई) नेपालीहरुको पहिलो गन्तव्य बनेको छ । विभागको तथ्यांकअनुसार युएईका लागि १३ हजार ९०५ जनाले श्रम स्वीकृति लिएका छन् । गत भदौ महिनामा युएई जान ११ हजार ७०९ जनाले श्रम स्वीकृति लिएका थिए । साउनमा ११ हजार ८७८ जनाले श्रम स्वीकृति लिएका थिए । यस्तै असोज महिनामा रोजगारीका लागि साउदी अरेबिया जान ११ हजार १२३ जनाले श्रम स्वीकृति लिएका छन् । संख्याको हिसाबमा साउदी दोस्रो स्थानमा परेको छ । त्यसैगरी तेस्रोमा श्रम स्वीकृति लिएर कतारमा १० हजार ६१० जना श्रमिक रोजगारीका लागि पुगेको विभागले उल्लेख गरेको छ । यसअघि कतार दोस्रो स्थानमा थियो । चालु आव सुरु भएयता युएई, कतार र साउदी जाने नेपालीको संख्या हराहारी जस्तो देखिएको छ ।
यसैगरी गत आर्थिक वर्षभरि पहिलो स्थान ओगटेको मलेसिया जाने नेपालीको संख्यामा कमी आएको छ । चौथो स्थानमा झरेको मलेसिया जान सात हजार ९०९ जनाले मात्रै असोजमा श्रम स्वीकृति लिएका छन् । यस्तै पाँचांै स्थानमा परेको कुवेतमा तीन हजार ७८१ जना नेपाली श्रमिक रोजगारीका लागि पुगेका छन् । यी पाँच मुलुकले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशतभन्दा बढी) ओगटेको देखिन्छ ।
यसैगरी माल्टाका लागि एक हजार १६०, जापान एक हजार ४८, क्रोएसिया ९७०, मोरिसस ७२४, रोमानिया ७०४, बहराइन ६०८, माल्दिभ्स ५८३, साइप्रस ५३३ र ओमानका लागि ३४५ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्यामा निकै कमी आएको छ । असोज महिनामा कोरिया जान ४८५ जनाले मात्रै श्रम स्वीकृति पाएका छन् ।
विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने १७ हजार २९३ जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३८ हजार ९४२ जना रहेका छन् । चालु आवको तेस्रो महिनामा श्रम स्वीकृति लिनेमध्ये छ हजार ८३७ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या क्रमिक रुपमा बढ्दै गएको विभागको तथ्यांकबाट देखिएको छ ।
यस्तै जिल्लागतरुपमा झापाबाट सबैभन्दा बढी रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ । असोजमा झापाबाट दुई हजार ६७३ जना विदेसिएका छन् । गत आर्थिक वर्षभरि पहिलो रहेको धनुषा चालु आवको सुरुआतबाटै दोस्रो स्थानमा झरेको छ । त्यहाँबाट दुई हजार ६२९ जना श्रमिक विदेसिएका छन् । यस्तै तेस्रो स्थानमा मोरङबाट दुई हजार ३१८ जना रोजगारीका लागि बाहिरिएका छन् । चौथोमा रहेको सिरहाबाट दुई हजार ११३ र पाँचौंमा रहेको महोत्तरीबाट एक हजार ८६० जना रहेका छन् । त्यसैगरी रुपन्देही, सुनसरी, सर्लाही, सप्तरी, चितवन, दाङ, कपिलवस्तु, मकवानपुर, रौतहट, तनहुँ, स्याङजा, बारा, धादिङ, बागलुङ र नवलपरासी पूर्वबाट पनि वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुको संख्या ठूलो रहेको विभागको तथ्यांकले देखाएको छ ।
धेरै श्रम स्वीकृति लिएका मुलुक
युएई– १३,९०५
साउदी– ११,१२३
कतार– १०,६१०
मलेसिया– ७,९०९
कुवेत– ३,७८१
माल्टा– ११६०
जापान– १,०४८
क्रोएसिया– ९७०
मोरिसस– ७२४
रोमानिया– ७०४