टिरिंगऽऽ टिरिंग बजेको मोबाइल फोन अलि परै छ । आजकल इन्टरनेटको प्रयोगले गर्दा लाइनवाला फोन भित्तामा सजिएर बसेको छ । विचरा कहिल्यै बज्दैन आजकल । बैठक कोठाको दक्षिण कुनामा रहेको सानो टेबलमा हल्का रङ खुइलिएको टेलिफोन सेटतिर आँखा घुमाउँछन् पञ्चरत्न ।
मोबाइलमा जति नै घण्टी बजे पनि पञ्चरत्नको आँखा सबैभन्दा पहिले त त्यही खुइलिएको टेलिफोनमा पर्ने गर्छ । अनिमात्र मोबाइलमा । सेतै कपाल फुलेका पञ्चरत्न पावरवाला चस्मा टेबलबाट तानेर आँखालाई अलि प्रस्ट बनाउन खोज्छन् । चस्मा लगाएपछि अघिदेखि टिरिंगऽऽ टिरिंग बजेको मोबाइल फोनको ‘भाइबर’ आएको नाम नियाल्दै चोरी औंला घिसार्दै फोन ‘रिसिभ’ गर्छन् ।
हेलो !
उताबाट आवाज आउँछ । बाऽ ढोग गरें । के छ तपाईको स्वास्थ्य ?
अलि घिर्रघिर्र गर्दै ठीकै छ बाबु । आफ्नै घरमा परदेशीजस्तै भइएको छ । के हुनु बरु यो सास गए पनि ठीकै हुन्थ्यो ।
उताबाट फेरि सोध्छ– अनि आमाको के छ नि ?
के हुनु बिहान उठेदेखि पूजापाठ, धर्मकर्म उही त हो नि । त्यसले जति नै धर्मकर्म गरे पनि भाग्य खोटै रहेछ । यो बूढेसकालमा बाउबाजेले समेत नभोगेको कर्म गर्नुपरेको छ । अनि तेरो के छ नि ?
उही त हो नि बा । कार्यालयको काम गर्न पाएको छैन । मानसिक रुपमा केही गर्न सकिँदो रहेनछ ! म त यति नालायक छु जस्तो लाग्न थाल्यो कि खै के भनौं ।
के गर्छस् त ! हामीले पनि यस्तो हुन्छ होला भन्ने सोचेका थिएनौं । तँलाई पढायौं लेखायौं । डाक्टर बनायौं सबैको सल्लाहमा बिहे पनि गरायौं । तर, खै कुन जुनीको पाप लाग्यो हो ! सोच्दै नसोचेको पनि हुँदो रहेछ । हामी बूढाबूढीलाई कुन बेला सिध्याइदिने हो अत्तोपत्तो छैन । पुर्खाले छाडेको माटोमा आफ्नै पसिनाले बनाएको घरमा त्रसित भएर बस्नुपरेको छ । तैँले पनि छाडेर गएसी हाम्रो त सास पनि अड्किरहन्छ कुन बेला के हुन्छ खै !
पञ्चरत्नको कुरा सुनेर छोरो भन्छ– के गरौं त भन्नु न । म फर्केर आउँ त ?
भैगोभैगो नआइजो, तँलाई देखेपछि झन् के भूत चढ्ने हो लुछेरै मार्छे । श्रीमती हुनुपर्ने कुमती परेपछि कसको के लाग्दो रहेछ र ! धन र सम्पत्तिका लागि आफ्नै लोग्नेलाई नछाड्नेले अरुलाई के बाँकी राख्ला र ? हामीलाई त के–के वात लाग्या छ लाग्या छ । यो बूढेसकालमा हरेक दिन पुलिसको दैला हाजिर गर्ने जागिर पो भाको छ त ? धाउँदा धाउँदै बाटैमा गइएला जस्तो ।
सर्पलाई जति नै दूध पिलाए पनि आखिर विष नै ओकल्ने रैछ त ? भैगो छाड्दिऊँ यस्ता कुरा । यही कुराले अस्ति तेरी आमा झण्डै गइसकेकी थि । धन्न समयमा नै अस्पताल पु¥याउन पाकाले भगवान्ले बचाए ।
पञ्चरत्नका बाबु छोराको फोनवार्ता एउटा प्रतिनिधि घटनामात्र हो ।
अहिले नेपालका धेरै परिवारमा यस्तै समस्या विकराल हुँदै गइरहेको छ । पितृसत्तात्मक व्यवस्था भनिएको नेपालका परिवारभित्र पितृसत्ता त च्यापिएको छ नै । त्यसले पितृ हुन लागेका वृद्धहरुलाई दैनिकजसो रुवाइरहेको छ ।पढेलेखका केही बुहारीले स्वतन्त्रताको नाममा गरेका कुकृत्यका कारण पञ्चरत्नजस्ता पात्रहरुलाई आफ्नै जन्मभूमि र जन्मघर नै पराइजस्तो भएको छ । पञ्चरत्नको सानो र सुखी परिवार दुई छोरी एक छोरा सबै उच्च शिक्षा हासिल गरेका, त्यो पनि विदेशबाट ।
पढेलेखेका छोरीहरुलाई परम्परागत रुपमा नै अन्माएर पठाएका पञ्चरत्नका बाबु बाजे कोही पनि अहिलेसम्म पुलिस अड्डा जानु परेको थिएन । तर, पञ्चरत्नको परिवारमा जब डाक्टर छोराको धुमधामसँग बिहे गरेर बुहारी भित्र्याए त्यसपछि सुरु भयो पञ्चरत्नको दुःखका दिन ।
तीन बीस र १० नाघेका पञ्चरत्नको घरमा खुसी त्यही दिनबाट सकियो जुन दिन बुहारी भित्रन नपाउँदै पितृसमानका सासू ससुरालाई घर निकाल्ने कुचेष्टा गरिन् । आपूm पनि पढेलेखेको बुहारी भएर नपढेका सासू ससुरालाई बुझाउने त कता हो कता । उल्टै डिंग हाँक्न थालिन् । पञ्चरत्न एकमात्र छोरा जसले बिहेको भोलिपल्टै पञ्चरात फर्काउन नपाउँदै श्रीमतीको झापट भेटे । धुमधाम गरी परम्परा धानेरै भित्र्याएको भोलिपल्टै डाक्टर छोरामाथि बुहारीको स्वतन्त्रताले छापा मार्न थाल्यो ।
एउटै पलङमा पल्टिएर पतिभन्दा प्रेमीसँग मस्किन पाउनुपर्ने पश्चिमाहरुको शैली बुहारीका लागि स्वतन्त्रता थियो । त्यही स्वतन्तता नपाउँदा आज पञ्चरत्नले पुलिस अड्डा धाउनुपरेको छ अनि छोरा बुहारीकै कारण घरमा बस्न नसक्नेगरी बाहिरिएको छ ।
सायद पञ्चरत्नको ७० वर्षे उमेरमा सेतै भएका आँखीभौसमेत भिज्ने गरी झरेका आँसुले पितृसत्तात्मक भन्ने व्यवस्थालाई पनि जिस्काइरहेको छ । नेपालको कानुनले दिएको अधिकारको दुरुपयोग गर्दै महिला अधिकारकर्मीहरुले पुरुषको वेदनामाथि पौडी खेलिरहेका छन् ।
चाहे विदेशमा रगत पसिना बगाएर कमाएको रकम यता श्रीमतीले चौपट्ट पारेको घटना होस् वा बिहे गरेको केही दिनमै सम्बन्ध विच्छेद गरेर अंश माग गर्ने बढ्दो घटना नै किन नहोस् । नेपाली समाज कुन मोडतिर लम्किरहेको छ । सामाजिक मूल्य मान्यताहरु कतातिर रुमल्लिरहेको छ भन्ने प्रश्न अहिले पेचिलो बन्दै गएको छ ।
७० वर्षको उमेर घरबाट बाहिरिनुपर्ने अवस्था पञ्चरत्नको जीवनमा आउनुपर्ने हो ? बिहे गरेको भोलिपल्टै अर्थात् एकै रातमा प्रताडित भएर डाक्टर पढेको छोरो पलायन हुनुपर्ने अवस्था हो ? त्यसो भए डाँडामाथिको घाम जस्तै पञ्चरत्नहरु माथि न्याय कसले दिने त ?
पञ्चरत्नजस्ता वृद्धहरुको अधिकार सुरक्षित कसले गरिदिने ? प्रजातान्त्रिक स्वतन्त्रता खोज्ने सामाजिक मूल्य र मान्यतालाई तिलाञ्जली दिएर पञ्चरत्नहरुमाथि धावा बोल्ने बुहारीजस्ता पात्रहरुकै दबदबा बढ्ने हो र ? महिला होस् या पुरुष, सासू हुन् या बुहारी धनी होस् या गरिब । जस्तोसुकै होस् । न्याय नमरोस् । न्याय नखोसियोस् । पीडितले न्याय पाओस् । पितृसत्तात्मक व्यवस्थाको डिंग हाँकेर त्यही पितृहरुमाथि अन्याय नहोस् । पञ्चरत्नलेजस्तो ७० वर्षको उमेरमा विनाकारण पुलिस अड्डा खेप्नुपर्ने अवस्थाको अन्त्य होस् ।