काठमाडौं– बेलायतमा रोजगारीका लागि जान चाहने नर्सले दिएका अधिकांश आवेदन मापदण्डअनुसार नभएको पाइएको छ । बेलायतसँग भएको जिटुजी सम्झौताअनुसार पहिलो चरणमा १०० जना स्वास्थ्यकर्मी (नर्स)को माग भएकाले इच्छुकका लागि आवेदन आह्वान गरिएको थियो । जसमा ७७१ जनाले आवेदन दिएका थिए । प्राप्त आवेदनमध्ये ७५ जनाको मात्र मापदण्ड पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
दक्ष जनशक्तिको उच्च माग रहेको बेलायतको स्वास्थ्य क्षेत्रमा हेल्थ केयर असिस्टेन्टको रुपमा १०० जना नेपाली नर्सलाई पठाउने गरी सरकारले गत साउन ४ गते अर्थात् २० जुलाईबाट आवेदन माग गरेको थियो । आवेदन दिने अन्तिम म्याद कात्तिक २ गते (१९ अक्टोबर) भित्र पेस गरिएका कागजातको आधारमा जम्मा ७५ जनाले मात्रै मापदण्ड पूरा गरेको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए ।
‘मापदण्ड पूरा गरेका आवेदन एकदमै न्यून छ,’ उनले भने, ‘बेलायतसँग भएको सम्झौताको आधारमा नर्स पठाउन हस्ताक्षर गरिएको प्रोटोकलअनुसार कडा मापदण्ड पूरा गर्नुपर्ने भएकाले आवेदन दिएका सबैले पूरा कागजात पेस गर्न सकेका छैनन् ।’ तीन महिना लामो समय राखेर आवेदन माग गरिए पनि मापदण्डअनुसार कागजात पेस नहुनुले रोजगारीको अवसर गुम्नसक्ने खतरा पनि देखिएको विभागका अधिकारीहरु बताउँछन् ।
बेलायतले नेपालबाट स्वास्थ्यकर्मी लैजानका लागि गत वर्षको २२ अगस्टमा सम्झौता गरेको थियो । सम्झौताअनुसार पहिलो चरणमा परीक्षणको रुपमा बेलायतले १०० जना नर्स माग गरेको हो । बेलायत जान चाहने नर्सले आफ्नो दक्षता प्रमाणित गर्न अलि बढी नै तयारी र मापदण्ड पूरा गर्नुपर्ने उप्रेतीले बताए । उनका अनुसार मापदण्ड पूरा गरेका नर्सहरु सहजै बेलायत रोजगारीका लागि जान सक्ने देखिएको छ । दुई देशबीचको श्रम समझदारीअनुसार बेलायत जान चाहने नर्सले अंग्रेजी भाषा परीक्षण आइइएलटिएसमा न्यूनतम सात अंक र अक्युपेसनल इंग्लिस टेस्ट (ओइटी)मा ‘बी’ ल्याएको प्रमाणपत्र पेस गर्नुपर्ने छ । यसको अलवा नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको र दुई वर्ष कार्यअनुभव रहेको प्रमाणपत्र अनिवार्य बुझाउनुपर्नेछ ।
मापदण्ड पूरा नभए पनि अनलाइन आवेदन स्वीकृत गर्ने प्रणाली भएका कारण अपुग कागजात पछि पेस गर्ने गरी आवेदन दर्ता गरिएको सूचना अधिकारी उप्रेतीले जानकारी दिए । मापदण्ड पूरा गरेका आवेदन एकदमै न्यून रहेका कारण आवेदन दिनेहरुलाई आवश्यक कागजात पूरा गर्न समय थप गर्न सकिने सम्भावना रहेको बताइएको छ ।
यसरी मापदण्ड पुगेका नर्सहरुको भर्ना प्रक्रियालाई पूरा गर्न वैदेशिक रोजगार विभाग र ह्याम्सपेयर हस्पिटल (एनएचएस) फाउन्डेसन ट्रस्ट युकेको संयुक्त समन्वय हुनेछ । त्यस्तै द्विपक्षीय सम्झौताअनुसार भर्ना प्रक्रियामा कुनै पनि व्यक्ति, रोजगारदाता, संघसंस्था वा म्यानपावर कम्पनी वा एजेण्टको सहभागिता निषेध गरिएको छ । रोजगारीका लागि छनोट भएका नर्सले कुनै पनि शुल्क बुझाउनुपर्ने छैन । यद्यपि, रोजगारीका लागि बेलायत पुगेका नर्सले तीन महिना तालिम लिएर त्यहाँको नर्सिङ काउन्सिलमा पनि अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ ।
बेलायतमा रोजगारीको अवसर पाउने नर्सको समयावधि पाँच वर्षको हुनेछ । उक्त अवधि पूरा भएपछि स्वतः स्वदेश फर्किनुपर्नेछ । श्रम समझदारीअनुसार स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली नर्सहरुको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने छ ।