काठमाडौं– ओमानले विदेशी नागरिकलाई दिने भिसा नीतिमा परिवर्तन गरेको छ । अब रोजगारीको उद्देश्य राखेर भिजिट भिसामा ओमान गएर ‘वर्किङ भिसा’मा रुपान्तरण गर्न पाइने छैन । ओमान सरकारले अक्टोबर ३१ देखि भिजिट तथा टुरिस्ट भिसामा गएका विदेशीहरूलाई काम गर्ने भिसा नदिने निर्णय गरेको मस्कटस्थित नेपाली दूतावासले उल्लेख गरेको छ ।
यसअघि ओमानमा विभिन्न मुलुकबाट भिजिट तथा टुरिस्ट भिसामा जाने र त्यहाँ पुगेपछि वर्किङ भिसामा परिवर्तन गरी काम गर्न सक्ने व्यवस्था थियो । दूतावासले बुधबार एक सूचना जारी गर्दै अक्टोबर ३१ देखि पर्यटन भिसा वा भिजिट भिसामा ओमान आइसकेपछि उक्त भिसालाई काम गर्न पाउने भिसामा परिवर्तन नहुने भन्दै सम्बन्धित सबैलाई जानकारी दिएको छ ।
भिजिट तथा टुरिस्ट भिसामा आएर काम गर्ने भिसा लिन नपाउने नियम लागू भएका कारण कसैले रोजगारी दिलाइदिन्छु भन्दै गलत आश्वासन दिएर भिजिट भिसामा पठाउन खोज्छ भने समयमै सचेत हुन पनि दूतावासले आग्रह गरेको छ । पछिल्लो समय थुप्रै नेपालीहरु भिजिट भिसामा ओमान जाने र वर्किङ भिसामा परिवर्तन गरी काम गर्ने गरेकाले दूतावासले नयाँ नीतिबारे जानकारी गराएको हो ।
ओमानले भिसा नीतिमा गरेको परिवर्तनका कारण रोजगारीको अवसर खोज्दै भिजिट तथा टुरिस्ट भिसामा जाने विदेशीहरु प्रभावित हुने देखिएको छ । त्यस्तै बंगलादेशी नागरिकहरुलाई अर्को निर्णय नभएसम्म सबै प्रकारको नयाँ भिसा दिन रोक लगाइएको छ । विशेषगरी बंगलादेशी नागरिकलाई लक्षित गरी भिसा नीतिमा परिवर्तन गरेको बुझिएको छ ।