नेपाल यस्तो देश हो जहाँ सबै किसिमको हावापानी पाइन्छ । हिमालको चिसोदेखि मधेसको तातो, चुरेको शीतल र पहाडी बतासले लोभलाग्दो विविधताको धनी देश बनेको छ नेपाल । तर, नेपालमा उद्योग छैनन् । यहाँ कलकारखाना छैन । तैपनि ठूला देशले उत्सर्जन गर्ने कार्बनका कारण नेपाल मारमा पर्दै आएको छ । ठूला देशहरुले विकासको उछिनपछिनमा प्रकृतिलाई नै असर पार्ने गरी कार्बन उत्पादन गरिरहँदा नेपालजस्ता देश भने प्रभावित भइरहेको छ ।
यही विषयलाई मुख्य मुद्दा बनाएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगे । गुटेरेसले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या र असरहरुका बारेमा विशेष चासो राखे । चार दिने भ्रमणका क्रममा गुटेरेस दोस्रो दिन विश्वको शिर सगरमाथाको बेसक्याम्प खुम्बु पुगे । त्यहाँबाट उनले विश्वलाई जलवायु परिवर्तनमा काम गर्न भिडियो सन्देशसमेत प्रवाह गरे । हिमालबाट हिउँ पग्लन थालेको र समुद्री सतह बढ्न थालेको उल्लेख गर्दै सगरमाथा आधार शिविरबाट उनले यस्ता विषय रोक्ने काममा उत्रने समय आइसकेको बताए । उनी हिमाली भेगदेखि पहाड हुँदै नेपालको मधेससम्मै पुगे ।
महासचिव गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधनका क्रममा जलवायु परिवर्तनको विषयलाई महŒवका साथ उठाए । जलवायु परिवर्तनका कारण नेपालजस्तो देशले भोग्नुपरेको समस्यालाई लिएर चिन्तासमेत जनाए । विश्वको संकटले नेपाललाई असर गरिरहेको उल्लेख गर्दै उनले वैश्विक कार्बन उत्सर्जनमा नेपालको योगदान धेरै सानो अंश भएको बताए । उनले यहाँका हिमनदी असामान्य गतिमा पग्लिरहेकोप्रति आफ्नो ध्यानाकर्षण गराए । नेपालले ३० वर्षको अवधिमा आफ्नो हिमनदीको झण्डै एक तिहाइ गुमाएकोसमेत उनले उल्लेख गरे । गुटेरेसले अन्नपूर्ण आधार क्षेत्रको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै नेपालले जलवायु परिवर्तनको असरमा न्याय पाउनुपर्ने विषयमा जोड दिएका छन् ।
उनले ठूला देशका कारण जलवायु समस्या सामना गर्नुपरेको देशलाई सहयोग गर्न आफूले प्रस्तावसमेत राखेको बताए । उनले विश्वका नेताहरूलाई ढिलाइ नगरी जलवायुमा काम गर्न आग्रह गरे । यसका लागि विकसित देशहरूले वार्षिक एक खर्ब डलर दिने वाचा पूरा गर्नुपर्ने विषयसमेत उनले उठाए । गुटेरेसले शान्तिका विषयमा पनि आफ्नो चासो खर्च गरे । तर, जलवायु परिवर्तनको विषयलाई मुख्य बनाउनु नेपालको लागि सुखद कुरा हो ।
नेपालको वातावरण सन्तुलन कायम गर्न अबका दिनमा राष्ट्रसंघबाट थप सहयोग आउनसक्ने सम्भावना बढेको छ । यसैगरी विनासमा दादागिरी मच्चाउने राष्ट्रहरुबाट रकम लिएर असर सहेका नेपालजस्ता कमजोर देशलाई सहायता प्रदान गर्ने विषयमासमेत थप लबिइङ बढ्ने देखिन्छ । यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रयासलाई पनि सराहनीय मान्नुपर्छ । दाहालले निकै प्राथमिकताका साथ गुटेरेसको भ्रमण सफल बनाएका हुन् । भावी दिनमा पनि जयवायु परिवर्तनलगायतका विषयमा राष्ट्रसंघबाट सहयोग लिन सरकारले कूटनीतिक पहल जारी राख्नुपर्ने टड्कारो आवश्यकता हो ।