काठमाडौं - काठमाडौंको भृकुटीमण्डपमा ‘तिहारको महोत्सव फूलको उत्सव’ प्रदर्शनी भईरहेको छ । ‘तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने नाराका साथ नर्सरी व्यावसायी संघ नेपालले भृकुटीमण्डपमा पुष्प मेलाको आयोजना गरेकाे छ। आर्थिक संकटका कारण व्यापार गर्न गाह्रो भो भनिरहेकै बेला नर्सरी व्यवसायीहरुले यस मेलामार्फत आशावादी भएकाे बताएका छन् ।
विभिन्न स्थानका नर्सरी व्यवसायीहरुकाे सहकार्यमा कात्तिक १४ गतेदेखि १८ गतेसम्म साे एक्स्पो हुने भएकाे छ । मेलामा फूलको बारेमा मात्रै हैन फूलमा प्रयोग हुने मलखाद, अर्ग्यानिक एवं रसायनिक विषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल राखिएको छ । आर्थिक संकटका कारण व्यापार गर्न गाह्रो भो भनिरहेकै बेला नर्सरी व्यवसायीहरुले यस मेलामार्फत आशावादी भएकाे पुष्प व्यवसायीहरुले बताएका छन् ।
पुष्प व्यवसायी ललित अर्याल भन्छन्,'नर्सरीमा नपाएको फुल पनि यहाँ पाएको छ, राम्रो व्यपार भएको छ, पाँच दिनको भाडा १८ हजार तिरेर पनि डेढ दुई लाख व्यपार हुने आशा गरेको छु । हामीले उत्पादन गरेको फुलहरु सहज रुपमा बेच्न, राम्रो वतावरण भए, समयमा बिऊ, मल पाए झनै राम्रो हुनि थियो । ' उनले भने, 'नर्सरी राख्न समस्या छ, पाँच वर्षको एग्रिमेन्ट गरेको हुन्छ, जब राम्रो हुँदै जाँदा सर्नु पर्ने अवस्था हुन्छ, त्यसैले सरकारले नर्सरी राख्ने कुनै एक ठाउँको व्यवस्था गरि दिए अझ राम्रो हुने थियो ।' सुन्दर फूलहरु फुलाएर बिक्री गर्दै आएका व्यवसायीहरुले फूलको बिउ भने नेपालमा पाउँदैनन् ‘नेपालमै बिउ किन्न पाए हामीलाई निकै सजिलो हुने अर्यालले बताए ।
फूलप्रेमी निर्मला गुरुङले भनिन्,'फूल रोप्ने तरिकादेखि फूलमा राखिने मल र औजारको बारेमा समेत जानकारी पाएको बताइन् । नर्सरीमा भन्दा यहाँ धेरै सस्तो छ । मैले बाहिर एक सय २० मा एक केजी कोकोपिट किनेको थिएँ , यहाँ पाँच केजी ४५० रुपयाँमा नै किनियाे । मल लगायत गमला पनि कम मूल्यमा पाएकोले याे मेला धेरै राम्रो भएकाे उनले बताइन् ।
अर्का पुष्प व्यवसायी मिलन कार्कीले भने,"तिहारको समय भएको कारण सयपत्रि फुल बढि बिक्री भएको छ , प्रतिवटा ५० रुपैँयाको दरले बेचे । करिब ८० प्रजातिका फुलहरु ल्याएकाे मध्ये ६०,७० प्रजातिको बेचिसकेँ । हामीसँग अहिले सबै भन्दा बढि गोदावरी १२ /१३ प्रजातिको छ । नर्सरीमा भन्दा यहाँ राम्रो व्यपार भएको छ ।"
नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको उक्त मेलामा व्यावसायिक स्टल ६२, फुड स्टल २ र अफिसियल स्टल ३ गरेर ६७ वटा स्टल रहेको नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष राम्जिप्रसाद तिमिल्सिनाले बताए ।उक्त प्रदर्शनी गत मंगलबारदेखि शनिबारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा कम्तीमा पनि ३० हजार अवलोकनकर्ताले अवलोकन गर्नुको साथै ५० लाख भन्दा बढीको आर्थिक कारोवार हुने आयोजक संस्थाले अपेक्षा गरेको छ ।पर्व विशेषको लागि घर आँगन तथा बगैँचा सजावटका लागि आवश्यक सबै सामग्री एक्स्पोमा पाइने आयोजकले जनाएको छ ।