काठमाडौं– चालु आर्थिक वर्षको तीन महिनामा एक लाख १३ हजारभन्दा बढी सीपयुक्त दक्ष श्रमिकहरु रोजगारीका लागि विदेसिएको पाइएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउन, भदौ र असोज महिनामा सीप सिकेर विदेश जाने श्रमिकको संख्या एक लाख १३ हजार २९३ जना रहेको छ ।
यस्तै तीन महिनाको अवधिमा सीप सिकेर विदेश जानेमध्ये १२ हजार ३०६ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । यसरी साउन महिनामा ३८ हजार ७४५, भदौमा ३५ हजार ८१० र असोजमा ३८ हजार ७३८ जना सीपयुक्त श्रमिक विदेसिएको विभागको तथ्यांकमा उल्लेख छ । उक्त अवधिमा १३ हजार ३७१ जना अर्धदक्ष श्रमिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका छन् । पेसागत दक्षता हासिल गरेका २६६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ ।
त्यस्तै तीन महिनाको अवधिमा विशिष्ट दक्षता हासिल गरेका १३५ जना विदेसिएका छन् । यस अवधिमा ठूलो संख्यामा अदक्ष श्रमिक पनि रोजगारीका लागि विदेसिएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । चालु अवको तीन महिनामा ३५ हजार ६५९ जना अदक्ष (कोरा) श्रमिक विदेसिएका छन् । यस्तै तीन महिनामा जम्मा एक लाख ६२ हजार ६९४ जना श्रमिक रोजगारीका लागि विदेश गएका छन् । जसमध्ये २१ हजार २४९ जना महिला श्रमिक रहेका छन् ।
विभागले सार्वजनिक गरेको गत आव २०७९÷८० को तथ्यांकअनुसार विशिष्ठ दक्षता हासिल गरेका श्रमिकका रुपमा २५७ जना, पेसागत दक्षता भएका श्रमिक एक हजार १५३ र सीपयुक्त दक्ष श्रमिक पाँच लाख छ हजार ५४६ जना रोजगारीका लागि विदेसिएका थिए । यस्तै गत वर्ष ६० हजार ५५५ जना अर्धदक्ष र दुई लाख दुई हजार २१६ जना अदक्षका श्रमिकका रुपमा विदेश गएका थिए ।
सरकारले रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू गरेयता सीप सिकेर विदेश जाने श्रमिकको संख्या बढ्दो क्रममा रहेको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए । उनका अनुसार पछिल्ला आर्थिक वर्षहरुमा वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको संख्या क्रमशः घट्दै गइरहेको छ ।
‘यद्यपि, सीप विकास तालिम अनिवार्य भए पनि कार्यान्वयनमा कठिनाइ भएका कारण ठूलै संख्यामा अदक्ष श्रमिक पनि रोजगारीका लागि विदेश जाने क्रम जारी नै छ,’ उनले भने, ‘कतिपय अवस्थामा पहिले नै विदेश गएर सीप सिकेर फर्किएका श्रमिकहरु पनि पुनः अदक्ष श्रमिककै रुपमा श्रम स्वीकृति लिएर विदेसिने गरेका कारण पनि अदक्ष श्रमिकको संख्या बढी देखिएको छ ।’
यस्तै वैदेशिक रोजगारीको सम्बन्धमा नेपाली श्रमिकहरुको दक्षता अभिवृद्धि गर्ने र सीपयुक्त दक्ष जनशक्ति उत्पादन गरी गन्तव्य मुलुकमा ब्राण्डिङ गर्नुपर्नेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलेसमेत जोड दिँदै आएका छन् । उनले विभिन्न फोरमहरुमा अन्तर्राष्ट्रिय श्रमबजारमा प्रतिपस्पर्धा गर्न सक्ने सीपयुक्त जनशक्ति विकास गर्न आवश्यक तयारी गरिरहेको बताउँदै आएका छन् ।