प्राकृति विपत्ति कुन बेला आउँछ भन्ने निश्चित हुँदैन । नेपालीमाझ चर्चित उखान ‘दशा बाजा बजाएर आउँदैन’ भन्नुको अर्थ विपत्ति जुनसुकै बेला आउन सक्छ । त्यसरी आउने विपत्तिले ठूलो जनधनको क्षति पुर्याउँछ । शुक्रबार राति यस्तै भयो जाजरकोट र रुकुम पश्चिममा ।
राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टरस्केलको भूकम्प गयो । जतिबेला अधिकांश मानिसहरु चीर निद्रामा हुन्छन् । रातिको समय आएको त्यही भूकम्पले ठूलो मानवीय तथा भौतिक संरचनामा क्षति पुर्याएको छ । जाजरकोट भूकम्पमा परी १५७ जनाको ज्यान जानुका साथै ३०० भन्दा बढी घाइते भएको गृह मन्त्रालयले जनाएको छ । यो शनिबार साँझसम्मको तथ्यांक हो । उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न पनि सक्छ ।
जाजरकोट भूकम्पले पुर्याएको यो मानवीय क्षति २०७२ को विनासकारी भूकम्पपछिकै सबैभन्दा ठूलो हो । ०७२ को भूकम्पपछि मुलुकका विभिन्न क्षेत्रमा केन्द्रबिन्दु भई थुप्रैपटक भूकम्प गए पनि मानवीय क्षति भएको थिएन । यो भूकम्पले अकल्पनीय क्षति पुर्याएको छ । जाजरकोट र रुकुम पश्चिममा भूकम्प गएलगत्तै उद्धार कार्यमा सरकार तत्काल लागिपर्यो । शनिबार बिहानैदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं प्रभावित क्षेत्रमा पुगी उद्धार कार्यमा खटिए । राज्यका सम्पूर्ण शक्तिलाई परिचालन गरे जुन राम्रो कुरा हो ।
तर, यतिले मात्रै पर्याप्त हुँदैन । भूकम्पपीडितलाई तत्काल पुनःस्थापनाको व्यवस्था गर्न जरुरी छ । घाइतेहरुको प्रभावकारी उपचारमा ध्यान दिनुपर्छ । यसमा सरकारको ध्यान जाओस् । सरकारसँगै अन्य क्षेत्रबाट पनि भूकम्पपीडितका लागि सहयोग घोषणा हुने क्रम जारी छ । विपद्को बेला सहयोगमा जुट्नु सराहनीय कार्य हो । तर, कतिपयले आफ्नो प्रचारका लागि सहयोग अभियान चलाउने कार्य गरेको पाइन्छ ।
विगतमा पनि यस्ता घटना भएका थिए । त्यसैले यस्तो घटना दोहोरिन नदिन सहयोग तथा राहत वितरण कार्य एकद्वार प्रणालीबाट गर्ने व्यवस्था गर्न जरुरी छ । अन्तर्राष्ट्रिय दातृ निकाय तथा मित्रराष्ट्रहरुबाट पनि सहयोग घोषणा भइरहेको सन्दर्भमा एकद्वार प्रणाली अनिवार्य देखिन्छ । विगतको घटनाबाट पाठ सिकेर सरकारले तत्काल सो कार्य गर्न जरुरी छ ।
अन्यथा पीडितले राहत पाउनुभन्दा बढी विभिन्न स्वार्थ समूहको कमाइखाने भाँडो बन्नसक्छ । यो दुखद् घडीमा सरकारसँगै सबै पक्ष जिम्मेवार बन्न जरुरी छ । घाइतेको प्रभावकारी उपचार, आवास भत्किएकाहरुको पुनःस्थापना र पीडितहरुका लागि आवश्यक अन्य सहयोगका लागि जुटौं ।