नैरोबी- इथियोपियाको सोमाली राज्यमा मुसलधारे वर्षाका कारण अचानक आएको बाढीमा परी २० भन्दा बढीको मृत्यु भएको र १२ हजारभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएको क्षेत्रीय सरकारले शनिबार बताएको छ । वर्षाले पुल र सडकहरू क्षतिग्रस्त हुँदा प्रभावितहरूलाई घर पुग्न समस्या भएको तथा बाली, वस्तुभाउ र सम्पत्तिमा पनि क्षति पुगेको सोमाली क्षेत्रीय राज्य सञ्चार ब्युरोले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
“बाढीमा अहिलेसम्म २० भन्दा धेरैको मृत्यु भइसकेको छ, १२ हजारभन्दा बढी विस्थापित भएका छन्”, विज्ञप्तिमा भनिएको छ, “बढ्दो वर्षा र पूर्वानुमानले बाढीको खतरा उच्च रहेको देखाउँछ ।” पूर्वी अफ्रिकामा अल निनोका कारण अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा सामान्यभन्दा अधिक वर्षा हुने सम्भावना रहेको संयुक्त राष्ट्रसङ्घको मानवीय एजेन्सी ओसिएचएले गत महिना बताएको थियो ।
अल निनो विश्वभरमा बढ्दो गर्मीका साथै विश्वका केही भागमा खडेरी र अन्य स्थानमा भीषण वर्षासँग सम्बन्धित प्राकृतिकरूपमा हुने ढाँचा हो । “सोमालियमा अक्टोबरदेखि डिसेम्बरसम्मको मनसुनको सुरुदेखि भीषण वर्षाका कारण आएको बाढीबाट १४ जनाको मृत्यु हुनुका साथै र कम्तीमा चार लाख पाँच हजार छ सय ५२ मानिस प्रभावित भएका थिए” ओसिएचएले शनिबार जारी गरेको एक प्रतिवेदनमा भनिएको छ, “बाढीको जोखिमबाट बच्नका लागि ४७ हजार एक सय मानिस उच्च स्थानमा सरेका छन् ।”