चरिकोट- दोलखाको सदरमुकाम चरिकोटमा रहेको सूर्योदय सहकारी संस्था लिमिटेडको २८ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । ११ लाख ६० हजार ६ सय २८ रुपैयाँ खुद मुनाफा गरी चरिकोटमा रहेको सूर्योदय सहकारी संस्था लिमिटेडको २८ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेकाे हाे ।
यस सहकारीले गत वर्ष कुल पुँजी ११ करोड ३० लाख २५ हजार ५ सय २२ रुपैयाँ बनाएको र सोही वर्ष ११ लाख ६० हजार ६ सय २८ रुपैयाँ खुद मुनाफा गरेको छ। संस्थाको निक्षेप ९ करोड ३ हजार ७ सय २७ रुपैयाँ पुगेको छ भने ९ करोड ४० लाख ९७ हजार ४ सय ३० रुपैयाँ ऋण लगानी रहेको छ ।
सभाको उद्घाटन भीमेश्वर नगरपालिकाको सहकारी शाखा प्रमुख नारायणप्रसाद सेढाईंले गरेका हुन् । सो क्रममा उनले रोजगार र उत्पादनमुलक क्षेत्रमा सहकारीहरुले लगानी बढाउनुपर्ने जोड दिए सहकारीहरुले आर्थिक रुपान्तरणको लागि गरेको योगदानको प्रशंसा गर्दै उनले त्यसलाई निरन्तरता दिन अनुरोध गरेका छन् ।
सभामा सहकारी संस्थाका अध्यक्ष कवीन्द्रदास श्रेष्ठले संस्थाको लक्ष्य र उद्देश्य अनुसार फड्को मार्न नसकिरहेको बेला आफूहरुको कडा मिहिनेत र प्रयास जारी रहेको उल्लेख गरे। २०५४ सालमा स्थापना भएको यो सहकारी बीचमा निष्क्रिय भएपनि अहिले तङग्रिएर आर्थिक रुपान्तरणको अभियानमा जुटेको उनले बताए।
सभामा संस्थाका सचिव रामप्रसाद सापकोटाले संस्थाको गत आर्थिक वर्षको प्रगति, कोषाध्यक्ष झमक बहादुर बस्नेतले आर्थिक र लेखा सुरपरिवेक्षण समितिका कार्यवाहक संयोजक भरत बस्नेतले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए। सभामा विभिन्न विधाको पुरस्कार प्रदान गरिएको थियो ।