एजेन्सी - कट्टरपन्थी इस्लामिक समूह (हमास) ले इजरायलमा आक्रमण गरेपछि इजरायलद्वारा थालेको कारबाही करिब एक महिना पुग्दै गर्दा प्यालेस्टिनी भूमिमा इजरायली बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको जनाएको छ ।
गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्रेहले पत्रकार सम्मेलन गरी १० हजार २२ जनाको मृत्यु भएको घोषणा गरेका छन् । इजरायली सेनाले गरेको भीषण बमबारीमा आतबार र सोमबारमा कम्तीमा २९२ जना प्यालेस्टाइनीको मृत्यु भएको उनले बताए ।
मन्त्रालयका अनुसार गाजामा युद्ध सुरु भएयता मारिनेमा चार हजारभन्दा बढी बालबालिकासहित अधिकांश सर्वसाधारण रहेका छन् । गाजा क्षेत्रमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार ४०० जनाको मृत्यु भएको इजरायली अधिकारीहरूले बताएका छन् ।