फुङ्लिङ- ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । अलैँची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ । बेँसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ ।
अहिले मध्यभागमा अलैँची थन्क्याउने मुख्य याम भएकाले किसानलाई चटारो छ । अलैँची सङ्कलन ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका ज्ञानबहादुर गुरुङले बताए । अलैँची थन्क्याउने यामका कारण चाडपर्व सहज गरी मनाउनै नपाएको उनले बताए । मुख्य याम भएकाले चाडपर्वमा पनि अलैँची बारी (बगान)मै बिताउनुपरेको फक्ताङलुङ गाउँपालिका–६ मादिबुङका वसन्त लिम्बूले बताए । तिहार अलैँची बगानमै मनाउने उनको योजना छ ।
फुङ्लिङ नगरपालिका–६ बिहीबारेका खाङ्डु शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमै दसैँ बितेको बताए । घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको उनले बताए। अलैँची खेतीमा संलग्न जिल्लाभरका किसानलाई अहिले अलैँची भित्र्याउन भ्याइनभ्याइ छ ।
जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्दै आएका छन् । जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । ताप्लेजुङमा प्रतिमन (४० किलो) खलैँची रु ५५ हजारमा खरिद बिक्री हुँदै आएको छ ।
अलैँची बगानमा रोजगारी
फुङ्लिङ–७ बिहीबारे क्षेत्रमा रहेको अलैँची बगानमा पूर्ण राई अलैँची टिपाइमा व्यस्त छिन् । उनी पाथीभरा याङवरक गाउँपालिका–१ नाङखल्याङबाट अलैँची टिप्न रोजगारी गर्न फुङ्लिङसम्म आएकी हुन् । दसैँ सकेलगत्तै राई घरबाट निस्किएकी हुन् । बिहान उठेपछि अलैँची टिप्न बगानमा पसेको राई साँझमात्र बगानबाट बाहिर निस्किन्छिन् । उनी साँझ–बिहानको खाना खाजा पनि अलैँची बगानमै खान्छिन् । बिहान र दिनभरि टिपिएको अलैँचीको थुंगा बगान नजिकै रहेको अलैँची सुकाउने भट्टीमा जम्मा गर्न्छिन् । दिनभरि टिपिएको अलैँचीको थुंगा बेलुका १० बजेसम्म छोडाउनु राईको अहिले दैनिकी बनेको छ ।
पाथीभरा याङवरक–१ नाङखल्याङ गाउँका पूर्ण राईसँगै सात जना घर छाडेर अलैँची टिप्न फुङ्लिङ पुगेकी हुन् । गाउँमा रोजगारी नभएपछि रोजगारी खोज्दै फुङ्लिङ–६ अवस्थित अलैँची बगानमा आइपुगेको नरप्रसाद राईले बताइन् । उनी तिहारसम्मै बगानमै बसेर अलैँची टिप्ने, ओसार्ने, भट्टी लगाउने काममा व्यस्त छिन् । देउसीभैलो खेल्नेलाई दान दक्षिणा दिनका लागि खर्च जुटाउन अलैँची बगानमा रोजगारी गर्न थालेकी हुन् । अलैँचीमै बसेर टिप्ने, छोडाउने र सुकाउने मजदुरलाई प्रतिदिन रु पाँच सयदेखि रु सात सयसम्म ज्याला दिने गरेका छन् ।