प्युठान- प्रहरी चौकी बरौला प्युठानलाई करिब ५ रोपनी जग्गा नि:शुल्क हस्तान्तरण गरिएकाे छ । ऐरावती गाउँपालिका-२ स्थित प्रहरी चौकी बरौला प्युठानको नाममा स्थानीय तीन जना जग्गादाताबाट नि:शुल्क प्राप्त ५ रोपनी ३ आना १ पैसा १ दाम जग्गा हस्तान्तरण गरिएको हाे ।
ऐरावती गाउँपालिका-४ बस्ने ५४ वर्षीय रेशम बहादुर जिसीबाट २ रोपनी, ४७ वर्षीय दामोदर ज्ञवालीबाट २ रोपनी र ४६ वर्षीय दुर्गा बहादुर जिसीबाट १ रोपनी ३ आना १ पैसा १ दाम जग्गाको धनीपूर्जा जिल्ला प्रहरी कार्यालय प्युठानमा सोमबार आयोजित कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।
यसैगरी बागमती प्रदेश सरकारको बजेटबाट रामेछापको ईलाका प्रहरी कार्यालय चोप्राङ र ईलाका प्रहरी कार्यालय बेथानमा नवनिर्मित कार्यालय तथा व्यारेक भवनहरू उद्घाटन भएको छ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले सोमबार आयोजित कार्यक्रमबीच दुवै भवनहरूको उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समिति रामेछापका उप-प्रमुख, खाँडादेवी र सूनापाती गाउँपालिकाका अध्यक्षहरू, बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।