काठमाडौं(प्रसं)– प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार सोमबार विविध कार्यक्रमबीच मनाइएको छ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७औँ ग्याल्पो ल्होसार बराह वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरेर मनाएको हो । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाउने परम्परा शेर्पा समुदायमा छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुंग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले बताए । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६ ०८:०८