काठमाडौं– नेपाली कामदारको प्रमुख श्रम गन्तव्य रहेको मलेसियामा जाने नेपाली श्रमिकको संख्या क्रमशः घट्दै गएको छ । श्रम स्वीकृतिको आधारमा गत आर्थिक वर्षभरि पहिलो स्थानमा रहेको मलेसिया चालु आव सुरु भएयता चौथो स्थानमा पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।
मलेसियाले न्यूनतम तलब बढाएर एक हजार ५०० रिंगेट बनाएपछि त्यहाँ जाने नेपालीको संख्या ह्वात्तै बढेको थियो । कोरोना महामारीका कारण लामो समयपछि रोजगारी प्रवेश खुलाइएको मलेसियामा गत आर्थिक वर्षमा दुई लाख ५९ हजार ५९४ जना नेपाली गएको विभागले जनाएको छ ।
मलेसिया जाने नेपाली कामदारको मागअनुसार गत वर्षभन्दा यस वर्ष तुलनात्मक रुपमा ठूलो गिरावट आएको छ । गत वर्ष साउनमा २४ हजार ४४८ जना गएकोमा यस वर्ष साउनमा घटेर नौ हजार २६८ जनामा सीमित भयो । गत वर्ष भदौमा ३५ हजार ३७२ मलेसिया गएको तथ्यांक छ । यस वर्ष सोही महिनामा आठ हजार १६९ जनाले मात्र श्रम स्वीकृति लिए ।
त्यस्तै गत वर्ष असोजमा २७ हजार ६२ जना मलेसिया गएकामा यस वर्ष सात हजार ९०९ जनाले मात्रै श्रम स्वीकृति लिनुले मलेसियामा कामदारको माग घटेको पुष्टि हुने सरोकारवालाहरु बताउँछन् । गत आर्थिक वर्षमात्रै ठूलो संख्यामा नेपाली श्रमिक रोजगारीका लागि मलेसिया गए पनि चालु आव सुरु भएसँगै घट्नुलाई मलेसियाले सन् २०२३ बाट नेपालबाट लिने श्रमिकका लागि रोजगारदातालाई दिँदै आएको कोटा बन्द गर्नुले काम गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।
‘हाल श्रम स्वीकृति लिएर मलेसिया जाने कामदारहरु मलेसिया सरकारले रोजगारदातालाई पहिल्यै दिएको कोटाअनुसार तय भएको हो,’ उनले भने, ‘त्यहाँको सरकारले रोजगारदातालाई दिने एप्रुभल रोकिराखे केही महिना नेपालबाट श्रम स्वीकृति लिएर मलेसिया जाने नेपालीको संख्या शून्य हुन सक्छ ।’
मलेसिया रोजगारीमा सक्रिय व्यवसायीहरुका अनुसार मलेसियाले सेवा, वृक्षरोपण, सुरक्षा गार्डलगायतका क्षेत्रमा रोजगारदातालाई आवश्यक पर्ने कोटा स्वीकृति नदिएका कारण नेपालबाट जाने कामदारको संख्यामा कमी आएको हो ।
मलेसियाका कतिपय रोजगारदाताले सरकारले दिएको कोटा लिने तर विदेशी श्रमिक माग नगर्ने गरेका कारण नयाँ कोटा स्वीकृति रोकिएको उनीहरुको भनाइ छ । तर, बहुराष्ट्रिय तथा केही ठूला कम्पनीले भने नेपालबाट कामदार माग गर्न छाडेका छैनन् ।