काठमाडौं - कुवेतले आफ्नो देशको कानुन उल्लंघन गरेको भन्दै पछिल्लो तीन महिनामा १२ हजारभन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरेको बताइएको छ । सार्वजनिक नीति उल्लंघन, आवास तथा श्रम कानुन उल्लंघन गर्ने विदेशी नागरिकलाई पुनः कुवेत फर्किन नपाउनेगरी देश निकाला गरिएको गल्फ न्युजले उल्लेख गरेको छ ।
कुवेती अधिकारीहरूले तीन महिना (अगस्टदेखि अक्टोबर) को बीचमा विभिन्न मुलुकका १२ हजारभन्दा बढी विदेशी नागरिकलाई प्रचलित कानुन उल्लंघन गरेका कारण देश निकाला गर्नुपरेको बताएको उक्त सञ्चारमाध्यमले जनाएको छ । रोजगारीका लागि विभिन्न मुलुकबाट कुवेत पुगेका आप्रवासी कामदारले सबैभन्दा बढी आवास र श्रम कानुन उल्लंघन गरेको बताइएको छ । अगस्ट र सेप्टेम्बरमा दुई महिनामा सात हजार ७८५ र अक्टोबरमा चार हजार ३०० जनालाई देश निकाला गरिएको उल्लेख छ ।
देश निकाला प्रक्रियाअन्तर्गत कुवेतले उपप्रधानमन्त्री, आन्तरिक र रक्षा कार्यवाहक मन्त्री शेख तलाल अल–खालेदको कडा निर्देशनहरू पालना गर्ने बताइएको छ । पछिल्लो समय कुवेतले थप कुवेतको आवास मामिलाअन्तर्गत अनुसन्धान महाशाखाले आवास तथा श्रम कानुन उल्लंघन गर्ने, विभिन्न अभियोगमा फरार व्यक्तिहरू र मोस्ट वान्टेडको सूचिमा रहेका व्यक्तिहरूलाई पत्ता लगाउन विशेष अभियान नै सञ्चालन गरिरहेको सञ्चारमाध्यमले जनाएको छ । त्यस्ता व्यक्तिहरुलाई फेला पारी देश निकाला गर्न राष्ट्रव्यापी सुरक्षा अपरेसनहरू चलिरहेको छ ।
कुवेतको कानुन अनुसार उल्लेखित अभियोगमा देश निकाला गरिएका विदेशी नागरिकहरु पुनः कुवेत प्रवेश गर्न पाउने छैनन् । अन्यथा उनीहरुले चर्को जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ । पछिल्लो समय कानुन उल्लंघन गरी अवैधरुपमा बस्ने विदेशी नागरिकलाई देश निकाला गर्ने कुवेत सरकारको नीतिले थुप्रै नेपाली पनि प्रभावित हुने देखिएको छ । कुवेत नेपालीहरुको प्रमुख श्रम गन्तव्यमध्येको एक हो । कुवेतमा थुप्रै नेपाली श्रम तथा आवास कानुनविपरीत काम गरिरहेको विभिन्न अध्ययनले देखाएको छ ।