दाङ–प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनताको साथ विना समृद्ध मुलुकको कल्पना गर्न नसकिने धारणा व्यक्त गरेका छन् ।
दाङको बेलझुण्डीमा आयोजना गरेको प्रदेश एक्स्पोको समापन समारोहमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले भने, ‘जनताको साथ विना मुलुकलाई समृद्ध बनाउन सकिदैन् ।’ उनले जनताको साथले नै मुलक समृद्धिको यात्रामा अघि बढेको बताए ।
मुख्यमन्त्री पोखरेलले प्रदेश एक्स्पोले नागरिकलाई स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग जोड्न तथा सरकार र नागरिकबीच कडीका रूपमा काम गर्न सफल भएको पनि बताए । उनले भने, ‘यस्ता कार्यक्रम, समारोहहरूले जनता, प्रदेश र सरकारसँग संयोनय गर्न सघाउ पुर्याउँछ ।’
त्यस्तै प्रदेशको पहिचान, संस्कृति र सम्भावनालाई पनि एक्स्पोले झल्काएको उनको भनाई थियो । यो एक्स्पोले स्थानिय संस्कृती र पहिचान जोगाउन सहयोग पुर्याउछ भन्ने विश्वास छ ।’ उनले समारोमा राखिएका स्टलमा प्रदेशभित्र उत्पादन हुने कृषिजन्य वस्तु पनि राखिएको जानकारी गराए । ती कृषिजन्य वस्तु बजारीकरणमा समस्या रहेपनि त्यो समस्या समाधान गर्नतर्फ प्रदेश सरकार तत्पर रहेको बताए ।
शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा प्रदेशका सबै जिल्लाका विशेषता तथा पहिचानसँग जोडिएका सामग्री राखिएको थिए । एक्स्पोमा सोेमबार गन्धर्व समुदायको प्रस्तुती राखिएको थियो । प्रदेश नं ५ का करिब ७० गन्धर्वले आफ्नो पहिचानसहित सारङ्गीको धुन प्रस्तुत गरेका थिए । त्यस्तै समारोहमा दिनभर थारु नाच, थाल नाच, झुमा नाच, लठ्ठी नाच, कौडा तथा टप्पा नाच प्रस्तुत गरिएको थियो । साथै विभिन्न सचेतनामूलक नाटक पनि प्रस्तुत गरिएको थियो ।
प्रदेशका विभिन्न मन्त्रालयले आफ्नो सेवाका बारेमा जानकारी गराएका थिए । प्रदेश सरकारका मन्त्रालयले गरेका दुईवर्षे कामको नागरिकलाई प्रत्यक्ष जानकारी, जिल्लामा उत्पादित वस्तु र सेवाका बारेमा एक्स्पोमा सहभागीले एकै थलोबाट सबै जानकारी र सेवा दिइएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६ ०८:१२