काठमाडौं– सुरक्षित आप्रवासनको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिरहेको स्वीट्जरल्याण्ड सरकारले नेपाललाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएको छ । नेपालका लागि स्वीस राजदूत डा. डेनियल मेउली मोन्टेलेनले श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारीसँग मन्त्रालयमा भएको भेटवार्तामा उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन् ।नेपालमा एक दशकभन्दा बढी समयदेखि स्वीस सरकारको
सहयोगमा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) लगायतका परियोजना सञ्चालित छन् । सामी परियोजनाले नेपालमा आप्रवासन कार्यसम्बन्धी विभिन्न जिल्लामा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धनका लागि निःशुल्क सीप विकास तालिम दिँदै आएको छ ।
साथै, वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई सुरक्षित आप्रवासनसम्बन्धी परामर्श दिने गरेको छ । त्यस्तै वैदेशिक रोजगारबाट प्राप्त भएको कमाइ (विप्रेषण) लाई सदुपयोग गर्न र सही वित्तीय निर्णयहरु लिन सक्षम बनाउने गरी वित्तीय साक्षरता प्रदान गर्दै आएको छ ।
नेपालमा सञ्चालित परियोजना र सुरक्षित आप्रवासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा मन्त्री भण्डारीसँग छलफल भएको मन्त्रालयले जनाएको छ । दुई देशबीचको पारस्पारिक सम्बन्ध र नेपाली श्रमिकका सम्बन्धमा पनि कुराकानी भएको मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता डम्बरबहादुर सुनुवारले बताए ।
‘अहिले शिष्टाचार भेटघाट भए पनि सेफर माइग्रेसनको सन्दर्भमा थप हुनसक्ने सहकार्यका लागि छलफल भयो,’ उनले भने ।राजदूतसँगको भेटमा सुरक्षित आप्रवासनका लागि नेपाललाई स्वीस सरकारको तर्फबाट भइरहेको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री भण्डारीले आगामी दिनमा अझ प्रभावकारी ढंगले समन्वय र सहकार्य गर्न तत्पर रहेको बताएका थिए ।