काठमाडौं -कोरियाको सिओलस्थित नेपाली राजदूतावासले इपिस प्रणालीअन्तर्गत त्यहाँ कार्यरत श्रमिकहरूलाई आफ्नो बिमा व्यवस्थाका लागि ध्यान दिन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै कोरियामा कार्यरत श्रमिकहरूलाई सामसङ ह्वाजे अन्तर्गतका तीनवटा बिमालेख उपलब्ध हुने जनाएको छ । स्वदेश फिर्ती अवधि समाप्ती बिमा (थेजिकम), घर फिर्ती रकम (होम गोइङ मनी) र दुर्घटना बिमाको व्यवस्था रहेको दूतावासले उल्लेख गरेको छ ।
रोजगारीको क्रममा श्रमिकहरुले उल्लिखित बिमामध्ये दुर्घटना बिमामा ध्यान नदिएको भन्दै दुर्घटना बिमाको अवस्थाबारे जानकारी लिई बिमाको अवधि समाप्त भएको भए पुनः नवीकरण गरी अध्यावधिक गराउन पनि दूतावासले सरोकारवाला सबैलाई सूचित गरेको छ । कोरियामा दुर्घटना बिमाको प्रिमियम शुल्क श्रमिक आफैंले तिरेर बिमा गर्नुपर्ने व्यवस्था छ ।
अधिकांश कम्पनीले श्रमिकको तलब कट्टा गरी थेजिकम, घर फिर्ती र दुर्घटना बिमा गरिदिने भए पनि केही कम्पनीले थेजिकम र घर फिर्ती बिमा गर्ने गरेको पाइएको दूतावासले उल्लेख गरेको छ । तसर्थ श्रमिकहरु आफैंले आफ्नो दुर्घटना बिमाको अवस्थाको जानकारी लिएर बिमाको अवधि समाप्त भएको भए पुनः नवीकरण गरी दुर्घटना बिमा अध्यावधिक गर्न सचेत गराइएको छ । यस विषयमा कुनै समस्या परेमा वा थप जानकारी लिनुपरेमा साम्सङ ह्वाजेको कार्यालय वा नेपाली दूतावासमा सम्पर्क राख्न पनि आग्रह गरिएको छ ।