काठमाडौं- वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेर विभिन्न समस्या झेलिरहेका थप ७२ जना नेपाली श्रमिकले ‘एक्जिट भिसा’ पाएका छन् । साउदीस्थित नेपाली राजदूतावासको समन्वयमा त्यहाँको अध्यागमन कार्यालयले हुरुब (कम्पनी छोडेर भागेका) लागेका र इकामा (बस्ने अनुमति) सकिएका वा नपाएका उनीहरुलाई एक्जिट भिसा दिएको हो ।
गैरकानुनी रुपमा रहेका आप्रवासी कामदारलाई स्वदेश फर्कन दिने नीति अनुरुप साउदी अध्यागमनले विदेशी श्रमिकलाई एक्जिट भिसा दिइरहेको छ । यसै क्रममा झण्डै दुई हजार ६०० नेपालीले विभिन्न मितिमा गरी एक्जिट भिसा पाइसकेको दूतावासले जनाएको छ ।
एक्जिट भिसा प्राप्त गरेका नेपालीहरुलाई यथाशीघ्र साउदी छोड्न जानकारी दिँदै समयमै भिसाको म्याद हेर्न पनि दूतावासले आग्रह गरेको छ । एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने र यसबापत कुनै पनि निकायमा कुनै शुल्क बुझाउनु नपर्ने दूतावासले जनाएको छ ।
तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । एक्जिट भिसामा भएको राहदानी/ट्राभल डकुमेन्ट नम्बर र आफूसँग भएको राहदानी/ट्राभल डकुमेन्ट नम्बर एउटै भए नभएको यकीन गरेर मात्र हवाई टिकट खरिद गर्न पनि दूतावासले आग्रह गरेको छ ।