- प्रधानमन्त्री र राष्ट्रपतिसँग शिष्टाचार भेट
- हिमालय पार सम्पर्क सञ्जाल कार्यान्वयनमा प्रधानमन्त्रीको जोड
- सिचुवान प्रान्तबाट पोखरामा सीधा उडानको अपेक्षा
काठमाडौं – नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार राजनीतिक भेटवार्तामा व्यस्त रह्यो । प्रतिनिधिमण्डलले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्यो ।
प्रधानमन्त्री दाहाललाई उनकै सरकारी निवास बालुवाटारमा भेट गरेको थियो भने राष्ट्रपति पौडेललाई शीतलनिवासमा । भेटका क्रममा आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले हिमालय पार सम्पर्क सञ्जाल दुई देशका लागि महŒवपूर्ण भएको बताउँदै त्यसलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए
उनका अनुसार प्रधानमन्त्री दाहालले चिनियाँ सरकारको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान प्रान्तबाट सीधा उडानको अपेक्षा गरेको बताए । नेपालले आसन्न विश्व जलवायु सम्मेलनमा जलवायु परिवर्तनका असरको विषयलाई मुख्य एजेण्डाका रुपमा उठाउने जानकारी दिँदै प्रधानमन्त्री दाहालले त्यसमा चीनजस्ता ठूला मुलुकले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । विश्वमञ्चमा जलवायु परिवर्तनले पारेको असरबारे नेपालले उठाएका विषयमा समर्थन गर्न पनि उनले आग्रह गरेका थिए ।
प्रधानमन्त्री दाहालले नेपाल र तिब्बतको सीमामा रहेका नाका सहजरुपमा सञ्चालन गर्न चीन सरकारले पहल लिएकामा धन्यवाद दिँदै मित्रराष्ट्र चीनबाट आगामी दिनमा थप सहजीकरणसहित सहयोग प्राप्त हुने अपेक्षा गरे । नेपालमा गएको भूकम्पका समयमा चीन सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भूकम्पको पूर्वसूचना संयन्त्र विकासमा पनि नेपालले अपेक्षा गरेको उल्लेख गरे । उनले ल्हासा–काठमाडौं सीधा उडानको तयारीप्रति चीन सरकारलाई धन्यवाद व्यक्त गरेका थिए । एक चीन नीति नेपालको राष्ट्रिय नीति भएको उनले स्पष्ट पारेका थिए ।
चिनियाँ पक्षले ल्हासा विमानस्थलको एउटा टर्मिनलको काम सक्न बाँकी रहेको र त्यो सकिनेबित्तिकै ल्हासा–काठमाडौं प्रत्यक्ष उडान हुने प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए । त्यसैगरी सचिव जुनझेङले पूर्वाधार, नेपाल–चीन सम्पर्क सञ्जाल, आर्थिक विकास र पर्यटनका क्षेत्रमा नेपालसँग मिलेर काम गर्न चाहेको बताए । उनले जनताजनताबीचको सम्बन्ध विकासका लागि नेपालको प्राथमिकतामा रहेको उल्लेख गर्दै त्यसका लागि दुई देशबीचको विभिन्न तहमा भइरहेका भ्रमणले पुष्टि गर्ने बताए ।
सचिव जुनझेङले हालै जाजरकोट भूकम्पमा परी मृत्यु भएकाप्रति चीन सरकारका तर्फबाट गहिरो दःुख व्यक्त गर्दै अरु थप सहयोग गर्ने विषयमा चीन तयार रहेको बताए । उनले विगतदेखि नेपालले लिँदै आएको एक चीन नीतिप्रति नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका प्रेसविज्ञ तिमिल्सिनाले जानकारी दिए । यसअघि चीनसँग भएका सम्झौता कार्यान्वयन गरिने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।