काठमाडौं– दक्षिण कोरियाले सीपयुक्त दक्ष जनशक्ति उत्पादनका लागि सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय श्रमबजारमा नेपाली श्रमिकको माग बढिरहेको सन्दर्भमा एचआरडी कोरियाअन्तर्गत ग्लोबल इन्स्टिच्युट अफ ट्रान्सफरिङ स्किल्स (गिफ्टस)ले सीपयुक्त दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने भएको हो ।
यसका लागि बिहीबार भैँसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र गिफ्टस) बीच सम्झौता भएको छ । सम्झौतापत्रमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको उपस्थितिमा प्रतिष्ठानका कार्यकारी निर्देशक उमाकान्त आचार्य र गिफ्टसका कार्यकारी निर्देशक बियुङ वुक लीले हस्ताक्षर गरेका छन् ।
प्रतिष्ठानले प्रदान गर्ने व्यावसायिक तालिम तथा सीप विकासलाई थप व्यवस्थित र प्रभावकारी बनाउन गिफ्टससँग सम्झौता गरिएको बताइएको छ । द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएसँगै नेपालको दक्ष जनशक्ति उत्पादनमा कोरियाले गिफ्टसमार्फत प्रतिष्ठानलाई अत्याधुनिक प्रविधियुक्त बनाउन आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ ।
सम्झौतापत्रमा द्विपक्षीय पारस्परिक र साझा चासोका क्षेत्र पहिचान गरी सहकार्य गर्ने जनाउँदै सीप विकास, परीक्षणलगायत क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ । साथै गिफ्टसले कोरिया रोजगारीबाट फर्केर आएका नेपालीहरूको पुनःएकीकरणका लागि पनि सहयोग गर्नेछ । यसैगरी थप सहकार्यका लागि विभिन्न क्षेत्र पहिचान गरेर अगाडि बढ्न सकिने उल्लेख छ ।
कोरियामा मात्र नभई अन्य गन्तव्यमा पनि दक्ष जनशक्तिको आवश्यकता रहेको भन्दै गिफ्टससँगको सहकार्यले थप सीपयुक्त दक्ष श्रमिक उत्पादन हुनेमा विश्वस्त रहेको सचिव भण्डारीले बताए । ‘कोरियाको विकास, सूचना प्रविधि संसारकै अनुकरणीय रहेको छ,’ उनले भने, ‘अब सीप विकास तालिम लिएर कोरिया जाने नेपाली श्रमिकले धेरै कुरा सिक्ने अवसर प्राप्त गर्नेछन् ।’
प्रतिष्ठानका कार्यकारी निर्देशक आचार्यले दक्षिण कोरिया रोजगारीका लागि नेपालीहरुको सबैभन्दा अकर्षक गन्तव्य रहेको उल्लेख गर्दैै थप सीप सिकेर जाँदा कोरियासँगै अन्य देशमा पनि काम गर्न सहज हुने बताए । इपिएस कोरिया शाखाका निर्देशक गुरूदत्त सुवेदीले कोरियाको गिफ्टससँगको सहकार्यले थप एक्सन प्लान बनाएर अघि बढ्न टेवा पुग्ने बताए ।
‘कोरिया जानेमात्र नभई सबै नेपालीहरूले स्वरोजगारका लागिसमेत सीप विकास तालिमको मौका पाउनेछन्,’ उनले भने, ‘हालसम्म पूर्वप्रस्थान अभिमुखीकरण (पिडिओटी) तालिममा मात्रै केन्द्रित गरिँदै आएकोमा अब कोरियासहितको अन्तर्राष्ट्रिय श्रमबजारमा आवश्यक पर्ने सीपमा विकासमा पनि जोड दिइने छ ।’
गिफ्टसका कार्यकारी निर्देशक लीले नेपालीहरू कोरियाली रोजगारदाताको प्राथमिकतामा परेको भन्दै आगामी दिनमा अझ धेरै श्रमिक पठाउनका लागि नेपाल सरकारलाई थप सहयोग गर्न कोरिया तत्पर रहेको बताए । सन् २००७ मा नेपाल–कोरियाबीच सजटुजी सम्झौता भएपश्चात् २००८ देखि इपिएस प्रणालीमार्फत नेपालीहरु रोजगारीका लागि दक्षिण कोरिया जाँदै आएका छन् ।