सहरबजार होस् या गाउँघर, यतिखेर तिहारको माहोल भित्रिसकेको छ । जताततै बत्तीको झिलिमिली र फूलहरुले सजिने क्रम बढ्दो छ । बत्ती र फूलहरुको पर्व तिहार दसैंपछिको ठूलो पर्व मानिन्छ । तिहारमा फूल नै विशेष हो । घर, पसल, मन्दिर तथा विभिन्न सार्वजनिक स्थलहरुमा फूलको माला विशेष रुपमा सजाइन्छ । यसका साथै दाजुभाइलाई माला लगाइदिने भएकोले पनि तिहारमा फूलको व्यापार ह्वात्तै बढ्ने गर्दछ । विभिन्न प्रकारका फूलले राम्रो बजार पाउने यही बेला हो ।
फूललाई पवित्र वस्तु मानिन्छ । त्यसैले यसको विशेष महŒव रहेको छ । नेपालमा पछिल्लो समय फूलखेती फस्टाउँदै गएको देखिन्छ । यसले कृषकलाई आम्दानी जुटाउन मात्र नभई मुलुकको अर्थतन्त्रमासमेत योगदान पु¥याइरहेको छ । तर, पछिल्लो समय रंगीचंगी प्लास्टिकका फूलहरुको प्रयोग पनि बढ्दो छ । आयातीत यस्ता फूलहरु तुलनात्मक रुपमा सस्तो हुने र टिकाउ पनि हुने भएकोले आकर्षण बढेको देखिन्छ । सस्तो र टिकाउ हुनु राम्रो कुरा हो तर प्राकृतिक फूलको जति महŒव हुन्छ प्लास्टिकको कृत्रिम फूलमा हुँदैन । प्राकृतिक फूलको प्रयोगले हुने लाभ त्यसले दिन सक्दैन । सरोकारवालाहरुले यो कुरा बुझाउन सकेका छैनन् ।
अहिले तिहार नजिकिँदै गर्दा विभिन्न जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले प्लास्टिकका फूल, गुच्छालगायत सामग्री प्रयोग नगर्न अपिल गरिरहेका छन् । यो सकारात्मक पहल हो । हामीले सर्वसाधारणलाई प्राकृतिक फूलकै प्रयोगमा प्रोत्साहित गर्न जरुरी छ । किनकि प्लास्टिकको फूलको प्रयोगले बेफाइदै बेफाइदा छ । एक त ती फूल विदेशबाट आयात गरिन्छ जसले मुलुकको व्यापार घाटा बढाउन मद्दत गर्दछ । त्यसको सट्टा स्वदेशमै उत्पादित प्राकृति फूलको प्रयोग गर्दा अर्थतन्त्रमा योगदान पुग्दछ ।
अर्कोपक्ष भनेको प्लास्टिकका फूलले प्रदूषण बढाउन विशेष भूमिका खेल्दछ । प्लास्टिकजन्य सामग्री त्यत्तिकै पनि स्वास्थ्य र वातावरणका लागि हानिकारक हुने कुरामा सबै जानकार नै छौं । उक्त कुरा बुझेर पनि यस्ता वस्तुको प्रयोग गर्नु आफ्नै लागि घातक हो । त्यसैले यस्ता वस्तुको प्रयोगमा निरुत्साहित गर्ने कार्य सराहनीय छ । अझ यस खालका सचेतना बढाउनुपर्ने देखिन्छ । आयातीत प्लास्टिकका फूलबाट हुने बेफाइदा र दूरगामी असरबारे सर्वसाधारणलाई जानकारी गराउनैपर्छ । हामी सचेत नागरिकले प्राकृतिक फूलको प्रयोगमा जोड दिनुको विकल्प छैन । आफू मात्रै होइन अरुलाई पनि यो सन्देश दिने गर्दा स्वयं व्यक्तिमात्र नभई समाज र राष्ट्रकै लागि लाभ हुने निश्चित छ ।