अर्थतन्त्र ओरालो लागेसँगै जनतामा निराशा छाएको छ । जनतामा नेताहरुको कार्यशैलीलाई लिएर भन्दा पनि आर्थिक मन्दीका कारण निराशा छाएको देखिन्छ । व्यावसायिक क्षेत्रको प्रगति आशलाग्दो छैन । त्यसैले होला अहिले व्यवस्थाविरुद्ध एकप्रकारको घृणा फैलँदो छ । युवाहरु विदेशिने क्रम पहिलेको भन्दा फेरिएको छ । पहिले श्रम शक्ति विदेशिन्थ्यो, तर रेमिट्यान्स भित्रिन्थ्यो । अहिले विद्यार्थीहरु बाहिरिने क्रम बढेको छ । उनीहरुसँगै अभिभावकको कमाई विदेशिँदै छ । हरेक क्षेत्रको व्यापार ओरालो लागेको छ ।
यस्तो अवस्थामा सत्तारुढ दल र प्रतिपक्षी दल यतिबेला के गर्ने भन्ने विषयमा रणभुल्लमा छन् । सरकारले विकासको ठोस कार्यक्रम ल्याउन सकेको छैन । बजेट नहुँदा काम हुन सकेको छैन । अर्थशास्त्र पढेका अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले कबुल गरेको योजनाअनुसार काम गर्न सकेका छैनन् । राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगको काम केही देखिएको छैन । वैदेशिक लगानी ठप्प छ । यस्तो अवस्थामा सरकारलाई कसरी काममा लाग्न प्रेरित गर्ने र कसरी खबरदारी गर्ने भन्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनभिज्ञ देखिन्छ ।
सत्ता परिवर्तनको कुरा गरौं, अंकगणितले दिँदैन । सरकारको विरोध गरुँ, अहिले देशको अवस्था नै नाजुक छ । यस्तो अवस्थामा अहिले प्रमुख प्रतिपक्षी दल एमाले सत्ताविरुद्ध होइन आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईंविरुद्ध पौठेजोरी खेल्ने कित्तामा पुगेको छ । एमालेले आफ्नो प्रतिद्वन्द्वी बिर्सेर हो वा आफू कमजोर भएको प्रमाणित गर्न ? मंसिर ७ गते मेडिकल व्यवसायी प्रसाईंसँग आफ्नो कार्यकर्तालाई आमनेसामने गराउँदै छन् । आफ्ना अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नानाभाँती भनेकोमा एमाले नेता कार्यकर्ताको टाउको दुख्नु सामान्य नै भयो । तर मोसो दल्ने र प्रतिकारमै उत्रनु अचम्मलाग्दो विषय बनेको छ । यो विषयले अहिले सत्तामा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्रलाई हाइसञ्चो भएको छ ।
सरकारविरुद्ध हुने आन्दोलनको प्रतिकार प्रतिपक्षले गर्ने भएपछि सरकारलाई जतिको मज्जा कसलाई छ र ? कार्यसम्पादनमा सरकारको खोट देखाएर सरकारलाई सही बाटोमा हिँडाउनुको साटो यसरी आफैं–आफैं भिड्न थालेपछि कसले के भन्ने ? यद्यपि, दुई पक्षबीचको झडपमा हुनसक्ने सम्भावित खतरालाई कम गर्न सुरक्षा तयारी भने सरकारको जिम्मामै पर्छ । यस विषयमा दाहाल सरकारले तयारी थालिसकेको छ । जनता चरम निराशामा छन् भन्ने कुरा सरकारले बिर्सनुहुन्न । सानो झिल्कोले डढेलोको रुप लिन्छ । त्यसैले यो प्रदर्शनलाई सरकारले निराशाको एक रुपका लिएर यस विषयको सम्बोधनका लागि चाँडै पहल गरोस् ।