काठमाडौं - यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो फिल्म दयाहाङ पछि बुद्धि तामाङ अनुबन्धित भएका हुन् ।
यसअघि यो फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई फाइनल भैइसकेका थिए । यसै फिल्मका लागि अर्को मुख्य अभिनेताका रुपमा बुद्धि तामाङ भित्रिएका हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन् ।
फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ । सामाजिक कथामा बन्ने फिल्ममा अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने उनले खुलाए ।
फिल्मकी प्रमुख अभिनेत्री को हुने भन्ने बारे निर्माण पक्षले केही खुलाएको छैन । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् । यो फिल्ममा दयाहाङ अनुबन्धित भएसँगै विदेशबाट ओभरसिस राइटस्का लागि माग बढीरहेको निर्माण पक्षको दाबी छ । फिल्मको छायाकंन तिहार लगतै गरिने बताइएको छ ।