काठमाडौं– वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाउने नेपालीहरुमध्ये १२ प्रतिशतको मृत्यु आत्महत्याका कारण हुने गरेको बताइएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरुमा हरेक वर्ष करिब एक हजार जनाको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘द गार्जियन’ले जनाएको छ । जसमध्ये १२ प्रतिशतको मृत्यु अत्महत्याका कारण भएको उल्लेख गरिएको छ ।
अत्महत्या गर्नेमा अधिकांश खाडी र मलेसिया रोजगारीका लागि गएका नेपालीहरु रहेका छन् । कार्यस्थल दुर्घटना र हृदयघातका कारण आप्रवासी कामदारहरूको मृत्युलाई राम्ररी अभिलेखीकरण गरिएको भए पनि आत्महत्यालाई कम ध्यान दिइएको उल्लेख गरेको गार्जियनले विदेशमा काम गर्ने नेपालीहरूमध्ये झण्डै १२ प्रतिशत मृत्यु आत्महत्याको रूपमा रेकर्ड भएको बताएको छ ।
परिवारबाट लामो समयसम्म अलग रहनु, ऋणको भारमा पर्नु, कार्यस्थलमा अपमानजनक व्यवहार, अव्यवस्थित तथा अस्वस्थ आवास, एक्लोपना र सामाजिक सहयोग सेवाहरूको अभावले आत्महत्याको अवस्थामा पु¥याउने गरेको मानसिक स्वास्थ्य परामर्श तथा मनोवैज्ञानिक डा. पशुपति महतले बताए । ‘उल्लेख गरिएका विभिन्न कारकहरू हुनसक्छन् जसले कामदारहरूलाई गम्भीर मानसिक स्वास्थ्य समस्याहरू र आत्महत्याको विचारहरू निम्त्याउँछ,’ उनले भने, ‘यसको नियन्त्रणका लागि सरकारले श्रम स्वीकृति जारी गर्नुअघि रोजगारीका लागि विदेश जाने श्रमिकहरूको मानसिक स्वास्थ्य ठीक छ भनेर सुनिश्चित गर्नुपर्छ ।’
आत्महत्या गरेका १८ जना प्रवासी श्रमिकका परिवारसँगको अन्तर्वार्तामा गार्जियनले उनीहरूको मृत्युमा कुनै संकेत नपाएकाले प्रायः परिवार स्तब्ध भएको उल्लेख गरेको छ । कतिपय अवस्थामा श्रमिकले मानसिक अवस्थाको कुनै संकेत नगरी आफ्नो ज्यान लिनुभन्दा केही घण्टा वा मिनेटअ परिवारका सदस्यसँग कुरा गरेको पाइएको गर्जियनको रिपोर्टमा बताइएको छ ।
मृत्युको अवस्थाका विवरणहरू प्रायः सहकर्मी तथा साथीभाइमार्फत आउने भन्दै सरकारी नियोगहरुबाट आफन्तलाई विरलै सम्पर्क हुने पनि गार्जियनले जनाएको छ । यसरी हुने आत्महत्यामा आफैंले आफ्नो जीवन अन्त्य गरेको थियो वा थिएन भन्ने परिवारलाई अलमलमा परेको पनि रिपोर्टमा उल्लेख गरिएको छ ।