काठमाडौं– वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेर विभिन्न समस्या झेलिरहेका थप २५ जना नेपाली श्रमिकले ‘एक्जिट भिसा’ पाएका छन् । साउदीस्थित नेपाली राजदूतावासको समन्वयमा त्यहाँको अध्यागमन कार्यालयले हुरुब (कम्पनी छोडेर भागेका) लागेका र इकामा (बस्ने अनुमति) सकिएका वा नपाएका उनीहरुलाई एक्जिट भिसा दिएको हो ।
गैरकानुनी रुपमा रहेका आप्रवासी कामदारलाई स्वदेश फर्कन दिने नीतिअनुरुप साउदी अध्यागमनले थुप्रै विदेशी श्रमिकलाई एक्जिट भिसा दिइरहेको छ । यसै क्रममा दुई हजार ६०० भन्दा बढी नेपालीहरुले विभिन्न मितिमा पटक–पटक गरी एक्जिट भिसा पाइसकेको दूतावासले जनाएको छ ।
एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने र यसबापत कुनै पनि निकायमा कुनै शुल्क बुझाउनु नपर्ने दूतावासले जनाएको छ । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । एक्जिट भिसामा भएको राहदानी/ट्राभल डकुमेन्ट नम्बर र आफूसँग भएको राहदानी÷ट्राभल डकुमेन्ट नम्बर एउटै भए नभएको यकीन गरेर मात्र हवाई टिकट खरिद गर्न पनि दूतावासले आग्रह गरेको छ ।
दूतावासले इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेका वा साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा प्राप्त नगरेका वा हुरूब लागेका व्यक्तिको मात्र एक्जिट भिसा प्रोसेसिङ गरिदिने प्रस्ट पारेको छ ।
त्यसैगरी, कुनै केस वा जरिवाना छ भने त्यसको छिनोफानो नभएसम्म एक्जिट भिसा नलाग्ने र भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन कार्यालयसँग मात्रै हुने दूतावासले प्रस्ट पारेको छ । अप्ठेरोमा परेका नेपालीहरुले आवश्यक जानकारी र सहजीकरणका लागि रियादस्थित दूतावासको कार्यालय र जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा बिदाको दिनबाहेक कार्यालय समयभित्र सम्पर्क राख्न सकिने जनाइएको छ ।