आउनुहोस् आउनुहोस् । दसैं सकियो, तिहार सकियो, छठ पनि सकियो तर ऋण तिर्न सकिएन । व्यवहार पनि चलाउन नै गाह्रो भो । त्यसैले बिक्रीमा बिक्रीमा । सुनौलो अवसर भन्दै कराउँदै छन् एक अधवैशे सडकमा ।
वरिपरि झुम्मिएर उनै अधवैशेको कुरा सुन्ने पनि धेरै छन् । कोही हाँसो बनाइरहेका छन् । कोही कठैबर भन्दै आफ्नो बाटो लाग्छन् । तर, अधवैशे कराउन छाडेको छैन । सरकार म बेच्नु तर मलाई रोक्न नखोज ! झुस्स दाह्री पालेको, कपालमा धुलैधुलोजस्तो देखिएको, मैलो मैलो कपडा लगाएको भर्खरै जुवा खालबाट हारेर फर्किएको जस्तो । भर्खरै सत्ताबाट गलहत्याएर निकालिएको जस्तो ! कोही नभएको टुहुरो जस्तो भएर पनि प्रयोग गर्न नजानेको जस्तो । कस्तो कस्तो व्यवहार देखिन्थ्यो अधवैशे ।
ऊ खाली बिक्री बिक्रीमा मात्र भन्दै थियो । तर के बिक्रीमा भन्ने कुरा उसले मुखले बोलिरहेको थिएन । सायद सडकाँ चटकेले चटक देखाउन पो खोज्यो कि भन्ठानेरै होला वरपर उभिएकाहरुले खासै चासो पनि नदिएका ।अधवैशे कराउँथ्यो उसको वरपर एक्कै छिन् मान्छे झुम्म पर्दथे अनि जान्थे उ एक्लै कराउँथ्यो । ‘धत्, कोही छैन । कसैको आँट नै छैन जस्तो छ किन्नलाई’ । ए बाबा म जसरी बेच्ने हो भने पनि आवश्यक परेकाले किने भैगो नि दिने मै हुँ । ऊ एकोहोरो बोलिरहेको थियो ।
उसको बोलाई निकै कष्टकर थियो । कुनै ठूलो विपद्मा परेर सहारा खोजिरहेको जस्तो । तर उसलाई साहारा दिने खोज्ने कोही पनि छैन । उ निकै कमजोर अनुभूति गरिरहेको छ । ख्वाक्क ऽ ख्वाक्क ऽ खोक्छ । यो मारोगी खोकीले पनि कस्तो सताउँछ हो । फोक्सै जाला जस्तो । लामो सास फेर्छ अनि कराउँछ । ‘कोही छ मेरो किन्ने ? बिक्री भइसकेको पनि मलाई च्याप्पै समातेर तानेर ल्यायो । बेच्नै दिएन त्यो बेला पनि असत्तिहरुले ।’
उसको कुरा सुनिरहेका अर्को व्यक्तिले अधवैशेलाई सोध्छन्, ‘होइन तपाईंले अघिदेखि बिक्रीमा बिक्रीमा भन्नुभएको छ । खास बिक्रीमाचाहिँ के हो ? तपाईंसँग बिक्री गर्ने वस्तु त म केही देख्दिनँ ?’ अधवैशे बोल्दैन । आफू पछाडि टाँसेको सूचना देखाउँछ । सूचनामा लेखिएको छ । ‘मेरो किड्नी बिकाउमा छ । कसैलाई चाहिए सम्पर्क गर्नू । व्यवहार चलाउन गाह्रो भएकाले किड्नी बेच्न खोजेको । नेपाल सरकारसँग अनुरोध मलाई पटक–पटक रोक्यौं अब मलाई मेरो किड्नी बेच्न नरोक्नू !’
सडकको भित्तामा सेतो फोटोकपी पेपरमा सूचना लेखेर टाँसिएको छ । सडकमा प्रायः जागिर, तालिम, अवसर यस्तै–यस्तै लेखिएका सूचना देखिन्थे तर यो सूचना भने अलि फरक थियो । जुन गैरकानुनी सूचना नै थियो । ती व्यक्तिले अधवैशेलाई भन्छन्, ‘यस्तो नचाहिने कुरा पनि बिक्री हुन्छ ? त्यसमाथि पनि सडकमा बसेर ।’अधवैशेले जवाफ दिन्छ । के नचाहिने कुरा । ‘यही किड्नी नपाएर मान्छेले अकालमा ज्यान गुमाउनुपरेको छ । कम्तीमा मर्न लागेको मान्छेलाई मैले बचाउँछु र म आफू पनि आनन्दले बाँच्न सकुँ भनेर हो नि ।’
सडकमा बसेर किड्नी बेच्छु भन्ने अधवैशेलाई ती व्यक्तिले भन्छन्, ‘हेर्नुस्, तपाईंले जे गर्दै हुनुहुन्छ । त्यो गैरकानुनी हो नि ? किड्नी भनेको त बेच्न पाइने कुरै होइन । तपाईं त खुल्लम खुला सडकमा बसेर भित्तामा सूचना नै टाँसेर बस्नुभएको छ ।’‘छाड्दिनुस् यस्तो कुरा, नेपालको कानुन जसले बनाउँछ उसैले जानुन भन्ने सुन्नु’भाको छैन ? कानुन ऐन भनेको त सानाका लागिमात्र हो । ठूलाले देशै बेच्छु भन्दा हुने मैले मेरो भाको किड्नी बेचेर आफ्नो व्यवहार चलाउँछु भन्न नपाउने ? अस्ति उता पूर्वतिर मान्छे मार्न पाउनु पर्दछ । खुकुरीले काट भन्दै सार्वजनिक भाषण गर्न पाउँछ । सिंहदरबार जलाउँछु भन्न पाउने ! मैले मेरो शरीरको किड्नी बेच्छु भन्दा जस्तो कानुन लाग्छ लागोस् ।’ अधवैशेले जिद्दी छाडेन ।
अधवैशेको कुरा सुनेर ती व्यक्ति तीन छक्क पर्छन् । अनि फेरि सोध्छन्, ‘होइन तपाईंलाई किड्नी नै चाहिँ किन बेच्नुप¥यो ?’ अधवैशेले जवाफ दिइहाल्छ– हेर्नुस् अब मसँग भएको बेच्न मिल्ने र अरुलाई पनि काम लाग्ने भनेको यही एउटा किड्नीमात्र छ । त्यही भएर यही बेच्न बाटोमा बसेर कराइरहेको छु । त्यही त सोधेनी, शरीरको अंग नै बेच्न खोज्नुभो किन भनेर ? ‘तपाईंलाई सुनाएर के काम ? किन्ने भए, तपाईंको कसैलाई आवश्यक छ भने मेरो किड्नी किन्नुस् नभएर मसँग अरु कुरा नगर्नुस् ।’ अधवैशे अलि झोक्किन्छ । व्यक्तिले अझै कुरा खोतल्न थाले, त्यसो भए कसरी किन्ने त तपाईंको किड्नी ?
अधवैशेले भन्यो– किन्छु मात्र भन्नुस् न अरु सबै म आफैं व्यवस्था गरिहाल्छु । उत्तर दिइहाल्यो । उनले फेरि सोधे, ‘त्यसो भए तपाईंको किड्नीको कति पैसा ? !अधवैशेंले भन्यो, ‘मलाई धेरै पैसा चाहिएको छैन । जम्मा १४ हजार ५०० भए म मेरो किड्नी बेच्छु ।’ ती व्यक्तिले फेरि सोधे जम्मा १४ हजार ५०० मा किड्नी बेच्ने ? ओहो ! किन ? फेरि प्रश्न गरे ।उसले सहजै जवाफ दियो, ‘ऋण तिर्न’ । उनले फेरि सोधे ऋण तिर्न किड्नी नै किन बेच्नु त ?
के गर्नु त ? अब मेरो अरु कुनै उपाय नै छैन । ऋण लिएर छ महिनाअघि कुवेत गएकी श्रीमतीसँग बोलचाल नै बन्द भो । दुई छोराहरु स्कुल जान नसकेर घर छाडेर हिँडे । लघुवित्त सहकारीले अलिकति भएको जग्गा खाइदियो । आफैं गरिखानका लागि गाडी चलाउने लाइसेन्स थियो, गाडी किनेँ । त्यो पनि बैंकले कोरोनाको बेलामा ब्याज तिरेन भने खाइदियो । छिमेकीलाई साक्षी राखेर सहकारीबाट फेरि व्यवसाय गरौं भनेर ऋण लिए त्यो पनि अर्को सहकारीलाई खेलाइदियो । त्यही भएर छिमेकीको १४ हजार ५०० ऋण बुझाउन किड्नी बेच्न खोज्दै छु ।
उनी अक्क न वक्क परे । साँच्चै अवस्था भयावह नै बन्दै छ । सोचौं !