बेदकोट– पुष्प खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान त्यसतर्फ आकर्षित भएका छन् । सरकारले प्लास्टिक माला प्रयोगमा प्रतिबन्ध गर्दा फूल आयातमा रोकिएपछि फुलको बिक्री बढ्ने भएपछि किसान त्यसतर्फ आकर्षित भएको भीमदत्त नगरपालिका–३ का किसान जनकबहादुर सिंहले बताए ।
“पुष्प खेती गर्नेको सङ्ख्या बर्सेनी बढ्दै गएको छ । यसबाट मुनाफा पनि राम्रै हुन्छ”, उनले भने, “थोरै लगानीमा स्वदेशमै राम्रो आम्दानी गर्न सकिने भएको छ । सिंह कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्राविधिक सहायक पदमा कार्यरत छन् ।
उनले भीमदत्त नगरपालिका– ३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर सात कट्ठा क्षेत्रफलमा फूलखेती गरेका छन् । दुई वर्षयता व्यावसायिक पुष्पखेती गरिरहेका उनले यसअघि भीमदत्तकै तिलकपुरमा फूलखेती गरेका हुन् । यसवर्ष दसैँतिहारमा विगतभन्दा फूल कम बिक्री भएको उनको भनाइ छ ।
“यसवर्ष फूल बिक्री गर्न निकै गाह्रो भयो, गतवर्ष मागअनुसार आपूर्ति गर्न सकिएको थिएन”, उनी भन्छन् , “तिहारको समय ढिलो भएकाले स्थानीय फूल छ्यापछ्याप्ती भएपछि सोचेअनुसार फूल बिक्री नभएको हो ।” उनका अनुसार चाडवाडको समयमा यसवर्ष महेन्द्रनगर क्षेत्रमा एक क्विन्टल फूल र तीन सयभन्दा बढी माला बिक्री भएका छन् ।
फूलको मूल्य प्रतिकेजी रु पाँच सय र मालाको रु एक सय तोकिएको थियो । फूल बिक्री गर्न हम्मेहम्मे परेपछि किसानले यसपटक सस्तोमै बिक्री गर्नुपरेको उनको भनाइ छ । कञ्चनपुरको दोधारा चाँदनी, कृष्णपुर र बेलौरीमा तुलनात्मक रुपमा अन्य ठाउँभन्दा बढी क्षेत्रफलमा पुष्प खेती गरिएको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यहाँ झण्डै दुई सय जनाले चार हेक्टरमा फूलखेती गरेका छन् । “एक कठ्ठादेखि सात कट्ठा क्षेत्रफलसम्म फूलखेती गरिएको छ । विदेशी फूल ल्याउन नदिने प्रावधानपछि यहाँका किसानलाई फूल खेतीको चेतना जागेको छ”, उनले भने, “यसपटक तिहारमा बाहिरबाट फूल ल्याउन परेन, स्थानीयस्तरकै फूलले माग पूर्ति भएको छ ।”
यहाँ सयपत्री, मखमली र कटफलावर प्रजातिका फूलको खेती बढी हुने गरेको उनले बताए । पुष्प व्यवसायमा किसानको आकर्षण बढ्दै गएपछि दसैँतिहार, विवाह, व्रतबन्ध, सभासमारोहमा प्रयोग हुने फूलमाला बाहिरबाट आयात गर्नुपर्ने बाध्यता हटेको छ