इलाम– इलाम सदरमुकाममा प्रथम ‘इलाम गोल्डकप’ हुने भएको छ । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा आउँदो माघ ६ देखि १३ गतेसम्म गोल्डकप गर्न लागिएको हो । आयोजक क्लबका सचिव प्रकाश घिमिरेका अनुसार प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ ।
इलामको ठूलो टुँडिखेलमा हुने प्रथम इलाम गोल्डकपमा नेपाल र देशबाहिरको एउटा टोलीसहित आठ टोली सहभागी हुने जनाइएको छ । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरीलगायत टोली सहभागी हुने भएपनि प्रतियोगितामा सहभागी हुने केही टोलीको अझै टुङ्गो लागिसकेको छैन ।
विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाखसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीको पुरस्कार भने तय हुन बाँकी नै रहेको जनाइएको छ ।
इलाममा यसअघि माईभ्याली गोल्डकपसमेत सञ्चालन हुँदै आएको थियो । माईभ्याली गोल्डकपसमेत फागुनमा गर्ने भनेर मिति तय भइसकेको थियो तर तत्कालका लागि माईभ्याली गोल्डकप नगर्ने बताइएको छ । पहाडी जिल्लामा छोटो समयमा दुईवटा प्रतियोगिता गर्न नसकिने भएपछि माईभ्यालीले आयोजना गर्ने प्रतियोगिता स्थगित गरेर इलाम गोल्डकपलाई नै सहयोग गर्ने माईभ्याली फुटबल क्लबका अध्यक्ष दिनेश काफ्लेले बताए।
उनै दाता, सङ्घसंस्था तथा पुरस्कार प्रायोजन गर्नेहरु भएपछि पनि तत्कालका लागि उक्त प्रतियोगिता स्थगित गरिएको हो । यसअघि फागुन २४ देखि चैत ३ गतेसम्म यही टुँडिखेलमा माईभ्याली गोल्डकप आयोजनाको घोषणा गरिएको थियो तर माईभ्याली फुटबल क्लब र रेडहर्सबीच भएको सहमतिअनुसार माईभ्याली गोल्डकपलाई केही समय स्थगित गरिएको छ ।