गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाले मङ्सिर ७ गते सार्वजनिक बिदा दिएका छन् ।
हरिबोधिनी एकादशी २०८० को अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले विगतमा झैँ यस वर्ष पनि बिदा दिइएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।
यस्तै छिमेकी गाउँपालिका गुल्मी दरबारले पनि भोली बिदा दिने निर्णय गरेको हो । दरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले हरिबोधिनी एकादशीको दिन गुल्मीको रेसुङ्गामा विशेष मेला लाग्ने भएकाले बिदा दिएको बताए ।
मेला हेर्न जिल्लाका विभिन्न स्थान सहित छिमेकी जिल्लाका मानिसहरू रेसुङ्गा आउने गर्दछन् ।